विराटनगर । विराटनगरमा निजी अस्पतालहरू बन्द हुने र खुल्ने क्रमले निरन्तरता पाएको छ ।
४/५ जना मिलेर एउटा नामको निजी अस्पताल खोल्ने गरेका छन् । पछि आर्थिक विषयमा कुरा नमिलेपछि उक्त अस्पताललाई छोडेर अर्को अस्पताल खोल्ने क्रम जारी रहेको छ ।
विराटनगरमा रेड प्लस अस्पताल, म्याक्स अस्पताल, संजिवनी अस्पताल, ग्रिनक्रस, श्री अस्पताल लगायत १ दर्जन अस्पताल खुल्ने र बन्द हुने क्रम चलिरहेको छ ।
यीमध्येका अस्पतालका सञ्चालकहरूले एकपछि अर्को अस्पताल खोलिरहेका छन् । जति निजी अस्पतालहरू खुलेका छन् त्यसका सञ्चालकहरू कुनै न कुनै अस्पतालमा पहिले आबद्ध थिए, उहाँहरूले पहिले आफू रहेको अस्पताल किन सञ्चालन गर्न सक्नु भएन ? यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
अहिले विराटनगरमा नोवेल मेडिकल कलेज, विराट नरसिंह अस्पताल, सुरक्षा अस्पताल, गोल्डेन अस्पताल, मोरङ सहकारी अस्पताल, न्युरो अस्पताल, मेट्रो न्युरो अस्पताल, हाम्रो अस्पताल, सप्तकोशी अस्पताल, लाइफगार्ड अस्पताल लगायतका अस्पतालरू निर्बाध रूपमा सञ्चालनमा आइरहेका छन् ।
यसलाई हेर्दा निर्बाध रूपमा सञ्चालनमा आइरहेका अस्पतालले बेला बखत बन्द हुने र पुन अर्को सञ्चालकद्वारा सञ्चालन हुने अस्पतालसँग प्रतिस्पर्धा गरिरहेका छन् । यसको फाइदा केही एम्बुलेन्स चालकहरूले उठाइरहेका छन् ।
एम्बुलेन्स चालकहरूमध्ये केहीले आफ्नो एम्बुलेन्समा रहेको बिरामीलाई बिरामीले भनेको अस्पतालमा पुर्याउने गर्दछन् भने केहीले बिरामीले बताएको अस्पतालमा नलगीकन अर्को अस्पतालमा पुर्याउने गरेका छन् ।
बिरामी पुर्याए बापत एम्बुलेन्स चालकलाई कुपन दिने र हप्तामा गएर एम्बुलेन्स चालकले अस्पतालबाट रकम लिने गरेका छन् ।
केही निजी अस्पतालसँग एम्बुलेन्स चालकले कुन तहको बिरामी ल्याए बापत कति रकम दिने भनेर लिस्ट नै प्राप्त गर्ने गरेको बताइन्छ ।
निजी अस्पतालका सञ्चालकसँग आफूले ल्याएको बिरामी आइ.सियू. मा भर्ना हुने बिरामी भएमा २० हजार, प्रसूतितर्फ १० हजार, नशा न्युरो तर्फ ३० हजार र अन्य सामान्यतर्फ भर्ना भएमा ५ हजार, एक बिरामी बापत दिने हो भने बिरामी लाइदिने भनेर भन्ने गरेको कुराले अस्पताल सञ्चालक नै अलमलमा परेका छन् । आफैँ बिरामीका मानिसले बोलाइ लगिएको अस्पतालसँग पनि सोही प्रकृतिको रकम माग गर्ने गरेको कुराले व्यापकता पाएको छ ।
एम्बुलेन्स जुन क्षेत्रको लागि सञ्चालन अनुमति लिएको हुन्छन् ती एम्बुलेन्स उक्त क्षेत्रमा प्रायः सञ्चालन हुँदैनन् ।
कोशी अस्पताल लगायत दिदी निजी अस्पतालले तोकेको कम्पाउण्डको पार्किङमा राख्ने गरेका छन् । यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।
स्वास्थ्यतर्फ अनुगमन गर्ने निकायले एम्बुलेन्सतर्फ अनुगमन नगर्दा केही एम्बुलेन्स सञ्चालकको मनोबल बढेर गएको छ ।