विराटनगर । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराउँदै अवस्था बदल्न व्यवस्था बदलौँ भन्दै राप्रपा मोरङले बृहत् जनजागरण अभियान सञ्चालन गरेको छ । सोही कुरालाई सार्वजनिक गर्दै जनसभाको आयोजना गरेको थियो ।
उक्त जनसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै गणतन्त्र सङ्घीयता धर्म निरपेक्षता मुलुककै अभिशाप हो भन्नुभयो । गणतन्त्र आफूले ल्याएको भन्नेहरू र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्नेहरूको नियत नै खराब भएको कारण नेपालका युवाहरूलाई विदेशमा बेचेर देश चलाउने नाममा मुलुकलाई खोक्रो पारिरहेका छन् भन्नुभयो ।
हिजो कुन कार्यालयमा कार्यरत कर्मचारीे भ्रष्टाचार गरेका हुन् भनेर प्रस्ट भनिन्थ्यो तर अहिले जताततै भ्रष्टाचार भइरहेको हुँदा कहाँ भ्रष्टाचार छैन भनेर खोज्ने बेला भएको छ ।
गणतन्त्रवादीलाई आफ्नो मत दिनु भनेको साँढेको टाङमुनि बाल्टिन राखेर दूध आउँछ भनेर दूध दुन खोज्नु जस्तै हो भन्नुहुँदै गणतन्त्रवादीबाट मुलुकको हितमा काम हुन सक्दैन भन्नुभयो ।
देशमा अहिले जुन प्रकारको काण्ड नै काण्ड भएको छ । यो व्यवस्थाकै कारणले हो भन्नुहुँदै मुलुकलाई सही बाटोमा ल्याउन मुलुक विदेशीको क्रिडास्थल हुनबाट जोगाउन व्यवस्था नै परिवर्तन गर्नुपर्छ लिङ्देनले भन्नुभयो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले वि.पि. कोइरालाको जन्म कर्मभूमि विराटनगरका जनताहरूले जानी नजानीकन परिवर्तनको नेतृत्व गरेको कारण मुलुकको स्वाभिमान गुम्दै गएको छ । मुलुकको स्वाधीनतालाई जोगाउन सबैले वि.पि. कोइरालाको धारण राजा र मेरो घाँटी जोडिएको छ भन्ने कुरालाई मनन गरी सोही बाटोमा हिँड्नुपर्छ राप्रपा सोही बाटोमा हिँडिरहेको बताउनुभयो ।
राजा र राजनीतिक दल मिलेर एक ठाउँमा आउनुपर्छ । हरियो, रातो, निलो रङ हल्लाउनेहरू सबै प्रचण्डका पुच्छर हुन् भन्नुहुँदै राजालाई अलग राखेर मुलुकको हित हुन सक्दैन भन्नुभयो । राप्रपा मोरङ अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको सो जनजागरण सभामा राप्रपा प्रवक्ता भक्ति सिटौला, राप्रपा महामन्त्री प्रह्लाद प्रसादले समेत बोल्नुभएको थियो ।