विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ र १९ को बिचमा पर्ने घिनाहाघाट पुल आधा बनिसकेपछि पुनः भत्काउने काम भएको छ ।

उक्त पुलको एकतर्फबाट आधा भाग बनाइसकेपछि वैशाखको पहिलो सातादेखि पुल गुणस्तरीय नभएको भनेर प्राविधिक टोलीले प्रतिवेदन दिएको कारण पुल भत्काइएको छ ।

यसबाट निर्माण कम्पनीलाई ठुलो नोक्सानी हुने देखिएको छ । पुल बनाउँदा प्रयोग गरिएको सिमेन्ट कम गुणस्तरको भएको कम्पनीले ठिक छैन भनेर प्रमाणित गरेको सिमेन्ट प्रयोग गरिएको भनेर सरोकारवाला निकायले आरोप लगाउँदै आएको छ ।

उक्त पुल बनाउन १ वर्ष अघिदेखि काम भएको छ । पुल बनाउन प्रयोग गरिएको सिमेन्ट, गिट्टी र बालुवा प्रयोग गरी पुलमा हाल्ने मसलालाई ३ वटा फर्मामा हालेर पहिलो ७ दिन, दोस्रो १४ दिन, तेस्रो २४ दिनमा परीक्षण गरिन्छ । उक्त परीक्षण गर्दा राम्रो परिणाम एपछि निर्माण व्यवसायीलाई रकम भुक्तानी गरिन्छ । त्यस बेला सरोकारवाला निकायका प्राविधिकले के हेरेका थिए यो प्रश्न जनमानस सामु आएको छ ।

पुल बनाउँदा, सडक बनाउँदा वा सरकारी भवन बनाउँदा सरोकारवाला निकायले प्राविधिकलाई उक्त स्थानमा राख्ने गर्नुपर्दछ भन्ने कानुनी मान्यता रहेको छ । पुल बनाउँदाखेरि देखिनै सरोकारवाला निकायले ध्यान नदिएको कारण यो अवस्था आएको हो ।

विराटनगर-घिनाहाघाटसम्म २.५ किलोमिटर सडक र पुलको लागि ३८ करोड ३० लाख ९१ हजार लामा वानिया कन्स्ट्रक्सनलाई कामो जिम्मा पूर्वाधार विकास कार्यालय विराटनगरले दिएको हो । अहिलेसम्म कार्यालयले १८औँ पटक गरी ३५ करोड ८७ लाख रकम भुक्तानी गरिसकेको छ । कुल ठेक्काको ८०% प्रतिशत भुक्तानी कार्यालयले दिइसकेको बताइन्छ ।

उक्त पुल निर्माणको लागि विम, ढलान गर्ने काम भएपछि सिमेन्ट न्यून गुणस्तरको रहेको र ३ दिनसम्ममा नजोडिएको कारण सरोकारवाला निकाय निर्माण व्यवसायीलाई राखेर भत्काउने काम गरेको सहरी विकास कार्यालय विराटनगरका सूचना अधिकारी मित्रमणि निरौलाले बताउनुभयो ।

फागुन २० गते मात्र १ करोड ५० लाख रकम भुक्तानी दिएको बताइन्छ ।

यसमा पूर्वाधार विकास कार्यालय विराटनगरको प्राविधिक टोलीले समयमा ध्यान नदिँदा सो हुन गएको हो कि भन्ने आशङ्का सर्वत्र गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया