विराटनगर । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी २०८१ को आयोजना गरिए पनि यसले सकारात्मक सन्देश दिनेतर्फ कुनै काम हुन सकेको छैन ।
नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त रूपमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रमुख अतिथिमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी, अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे, भन्सार विभागमा महानिर्देशक डुन्डीप्रसाद निरौला, प्रहरी महानिरीक्षक वसन्त कुवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई, कोसी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रदेश प्रमुख झापा, मोरङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालयका प्रमुख, तीन जिल्लाका राजस्व चुहावट नियन्त्रण समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो । उक्त सम्मेलनमा सबैले राजस्व चुहावटतर्फ चासो र चिन्ता व्यक्त गरेका थिए ।
केन्द्रीय तहबाट गोष्ठी गर्नु अगाडि जिल्लाका राजस्व चुहावट नियन्त्रण सम्बन्धी बैठकहरू बेला बखत बस्ने गरेको छ ।
उक्त बैठकमा उठेका विषयलाई राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मा लिएको निकायले आत्मसात् नगरेको कारण राजस्व चुहावटतर्फ नियन्त्रण हुन सकेको थिएन ।
नेपाल-भारत खुला सिमाना छ । प्रत्येक सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल APF को टोली रहेका छन् भने जोगवनी प्रवेश गर्ने क्षेत्रमा सशस्त्र प्रहरी बल APF नै कार्यरत छन् । उनीहरूकै अगाडिबाट सामानहरू आइरहेको हुन्छ व्यापारिक प्रयोजनका सामानहरू तर उक्त सामानलाई देखे पनि नदेखे जस्तो गर्ने गरेको पाइएको छ । राजस्व चुहावट सम्बन्धी गोष्ठी विराटनगरमा चलिरहँदा राजस्व चुहावट नियन्त्रण गर्नेतर्फ नभईकन राजस्व चुहावट कसरी गर्ने र त्यसलाई व्यवस्थित गर्ने तर्फ काम गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे भएको थियो ।
जोगवनी प्रवेश गर्ने नाकाबाट जोगवनी गई सामान ल्याउने व्यापारीलाई तपाईँहरू आज किन आउनुभयो नआउँदा हुने थियो, हामीलाई समस्या आउँछ भनेर भन्ने गरेको कुरा व्यापारीहरूले सार्वजनिक रूपमै व्यक्त गरेका छन् ।
रानी विराटनगरका यात्रु शाखाका ना.सु.ले त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई फलानो सामानको मूल्य बढी छ भन्सार नतिरीकन लग्लान् भनेर जान नदिनु भने पनि त्यहाँ कार्यरत सुरक्षाकर्मीले सहज रूपमा उक्त सामान नेपालतर्फ ल्याउन सहजीकरण गरेका थिए ।
पहिला सोही बाटोबाट सामान नेपालतर्फ भित्र्याउनेले उक्त दिन सीमा प्रहरी चौकी रानीदेखि विराटनगर रानी हुलास चोक क्षेत्रबाट सामानहरू राजस्व नतिरीकन नेपालतर्फ ल्याउने काम भएको थियो ।
उक्त क्षेत्रमा राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मा पाएका APF को उपस्थिति थियो । उहाँहरू उपस्थित हुँदाहुँदै सामान नेपालतर्फ प्रवेश गर्दछ यसलाई स्थानीय बासिन्दाले असहज रूपमा लिएका छन् ।
ृहमन्त्रीको उपस्थितिमा सुरक्षा निकायका उच्च पदाधिकारी विराटनगरमा रहेको बेलामा त चोरी पैठारी नियन्त्रण हुन सकेन, चोरी पैठारी भयो भने अरू बेला नहोला भनेर भन्न सकिने अवस्था छैन ।
भन्सार प्रशासन एवम् भन्सार कर्मचारीले भनेको कुरालाई फिल्डमा खटिएको सुरक्षाकर्मीले त टेर्दैनन् भने राजस्व चुहावटमा कतिको सहजीकरण भएको छ अनुमान लगाउन सकिन्छ ।
कतिपय राजस्व चुहावट सरकारको गलत नीतिको कारण हुने गरेको छ । सरकारले लगाउने गरेको करले गर्दा राजस्व छली गर्न सहज हुने गरेको छ भने राजस्व छलेकालाई नियन्त्रणमा लिई उनीहरूलाई निरुत्साहित गर्ने निकायले संरक्षण दिएको कारण राजस्व चुहावटमा वृद्धि भएको छ ।