विराटनगर । राज्य पक्षबाट स्व. राजा महेन्द्रलाई बिर्से पनि स्थानीय बासिन्दाले स्व. राजा महेन्द्रलाई अहिलेसम्म बिर्सन सकेका छैनन् ।
नेपालका अधिकांश राजनीतिक दलमध्ये केहीले मार्क्स, लेलिन, माओको जन्मदिन मनाउँछन्, केहीले महात्मा गान्धीको जन्मदिन मनाउँछन्, केहीले पुष्पलाल, मदन भण्डारी त कोहीले बि.पी. कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको जन्मदिन मनाउने गरेका छन् । तर जसले विश्वमा नेपाल भनेर चिनाएको, नेपाल पनि छ भनेर विश्वको मानचित्रमा कोर्ने काम गरेका छन् ती स्व. राजा महेन्द्रलाई स्मरण गर्न यहाँका राजनीतिक दलले कन्जुस्याइँ गरिरहेको अवस्थामा एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङले स्व. राजा महेन्द्रको १०५औँ जन्म जयन्ती मनाएर उहाँलाई स्मरण गर्ने काम गरेको छ ।
उक्त समितिले आयोजना गरेको कार्क्रममा ्व. राजा महेन्द्रको योगदान माथि विभिन्न वक्ताहरूले चर्चा परिचर्चा गर्नुभएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल विद्वत् परिषद्का राष्ट्रिय अध्यक्ष जितबहादुर अर्जेलले नेपालका राजा एवम् राजा महेन्द्रलाई तानासाह भन्नेहरू नै वास्तविक तानासाह हुन् भन्नुभयो ।
सोही अवसरमा नेपाल सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बद्रीप्रसाद मण्डलले नेपालको इतिहासमा राजा महेन्द्रको योगदान ठुलो रहेको छ । यसलाई क्रमशः नेपालीले बुझ्दै आएका छन् भन्नुभयो ।
नेपालीपनलाई राष्ट्रियकरण गर्ने हाम्रो राष्ट्रियता नेपाली हो भनी स्थापित गर्ने काम राजा महेन्द्रबाट भएको दाबी मण्डलले गर्नुभएको थियो ।
उक्त अवसरमा स्वयम्भूनाथ कार्की, श्याम अधिकारी, पुष्पराज दाहालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नुहुने एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका अध्यक्ष वल्लभ प्रसाद दाहालले कार्यक्रमको समापन गर्दै नेपालमा बस्ने सम्पूर्ण नेपाली राजावादी हुन् जसले आफूलाई राजावादी भन्न सक्दैन उनीहरूलाई नेपालमा बस्ने अधिकार छैन भन्नुभयो ।
शाह वंशीय राजाको इतिहास नेपाल एकीकरणदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा शाह वंशीय इतिहासलाई कसैले बिर्सन हुँदैन भन्नुहुँदै विश्व रहुन्जेल विश्वको मानचित्रमा नेपाल रहिरहन्छ नेपाललाई कसैले मेटाउन सक्दैन दाहालले भन्नुभयो ।
राजाले बनाइदिएको देशमा बस्ने फेरि राजाकै विरोध गर्नेलाई नेपालमा बस्ने अधिकार छैन भन्नुभयो ।