विराटनगर । एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङले राजा ज्ञानेन्द्र शाहको ७८औँ शुभ जन्मोत्सव विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
उक्त अवसरमा नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेलले नेपालमा विदेशीहरूको चलखेल रोक्ने काम नेपालको राज संस्थाले गरेको बताउनुभयो तर अहिले विदेशीको चलखेल नेपालमा राजसंस्था नभएकै कारण बढेको समेत बताउनुभयो । राष्ट्रिय सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष बद्रीप्रसाद मण्डलले राजा भनेको सबैको साझा हुन् नेपालको इतिहासलाई हेर्दा नेपाल र नेपालीको हितको लागि नेपालको राजसंस्थाले महत्त्वपूर्ण कदम समेत चालेको कुरामाथि जोड दिनुभयो ।
हिजो राजालाई गाली गर्नेहरू अहिले राजा चाहिन्छ भनिरहेका छन् । यसलाई हामीले शक्तिको रूपमा अगाडि लानुपर्छ मण्डलले भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका अध्यक्ष वल्लभप्रसाद दाहालले नेपालमा बस्ने प्रत्येक नेपाली राजावादी हुन् जो आफूलाई राजावादी भन्न सक्दैन ऊ नेपाली हुन सक्दैन, उसलाई नेपालमा बस्ने अधिकार छैन भन्नुभयो ।
नेपालको इतिहासलाई हेर्ने हो भने नेपाल र नेपालीको हितमा नेपालको राज संस्थाले महत्त्वपूर्ण योगदान गरेको छ दाहालले भन्नुभयो ।
नेपाललाई विश्वको मानचित्रमा नेपाल छ भनेर स्थापित गर्ने, नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्य बनाउने काम नेपालको राजसंस्थाबाट भएको थियो, दाहालको भनाइ थियो ।
जनताको चाहनाअनुसार हाँसी हाँसी नेपाली जनताको नासो नेपाली जनतालाई सुम्पिने काम राजा ज्ञानेन्द्रबाट भएको कुरामाथि चर्चा गर्दै नेपाली जनताले नेपालको राज संस्थालाई शिरमा राखेर राजदरबार प्रवेश गराउने ठोकुवा गर्नुभयो ।
उक्त अवसरमा श्याम अधिकारी, पुष्पराज दाहाल, स्वयम्भू कार्की, सुरेश मिश्र, रमा प्रसाईँले पनि बोल्नुभएको थियो ।