विराटनगर । आर्थिक अवस्था कमजोर भई कानुनी उपचार प्राप्त गर्न नसक्ने व्यक्तिको लागि निःशुल्क कानुनी सेवा उपलब्ध गराउनेतर्फ उच्च अदालत विराटनगरले काम गर्दै आएको छ । उच्च अदालत विराटनगरमा वैतनिक कानुन व्यवसायीको व्यवस्था भएको हुँदा उक्त व्यवस्थाअनुसार सेवा लिन सेवाग्राहीहरूले क्रमशः सक्रियता देखाउँदै आएका छन् ।

उच्च अदालत विराटनगरले व्यवस्था गरेको वैतनिक कानुन व्यवसायीको सेवा प्राप्त गर्ने सेवाग्राहीलाई सेवा दिने क्रममा आर्थिक वर्ष २०८०/८१ मा १०१ पटक बहस गर्ने काम भएको छ । वैतनिक कानुन व्यवसायी पुरुषोत्तम दाहालको सक्रियतामा २८ जना व्यक्तिको लिखत तयारी गर्ने टेम्पलेट ३९१ जना व्यक्तिको भर्ने काम १ वर्षमा भएको छ ।

वैतनिक कानुनी व्यवसायीको सेवा परामर्शतर्फ २१८ जना व्यक्तिले, साक्षी परीक्षणतर्फ २ जना व्यक्तिले, कारागार भ्रमण मोरङ सुनसरीमा गर्दा ११७ जना व्यक्तिले सेवा प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा उच्च अदालत विराटनगरले राखेको वैतनिक कानुनी व्यवसायीको सहयोगमा सेवा प्राप्त गर्ने मुद्दामा पक्षको सङ्ख्या ८०२ रहेको छ ।

कानुन व्यवसायी राखेर मुद्दा लड्न नसक्ने पक्षहरूले उक्त वैतनिक कानुनी शाखामा सम्पर्क राखी सेवा लिन चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनेतर्फ उच्च अदालत विराटनगरको उक्त शाखाले सहयोग गर्ने कुरा उच्च अदालत विराटनगरका रजिस्टार जगदीशप्रसाद भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया