विराटनगर । विराटनगर महानगरपालिका मानव स्वास्थ्यमाथि जति संवेदनशील हुनुपर्ने हो त्यति संवेदनशील हुन सकेको छैन ।
विराटनगर महानगरपालिका भित्र दुई दर्जनभन्दा बढी सरकारी एवम् निजी अस्पताल, पोलिक्लिनिक एवम् ल्याब रहेका छन् । उक्त निकायबाट निस्कने दूषित वस्तु कटन, सिरिञ्च, बच्चाको नाल लगायत अन्य वस्तुलाई व्यवस्थित गर्नेतर्फ महानगरपालिकाले ठोस कदम चाल्न सकेको छैन ।
उक्त स्थानबाट निस्केको फोहर एवम् फोहरजन्य वस्तुको उचित व्यवस्थापन गराउनेतर्फ खासै पहल हुन सकेको छैन ।
महानगरपालिकाले आफ्नो महानगरपालिकाका अस्पताल, निजी क्लिनिक, ल्याब, होटेल, पसल, घरबाट निस्केको फोहरलाई उठाउने र व्यवस्थापन गर्ने गरी तीन वटा संस्थालाई जिम्मा दिएकोमा उनीहरूले पनि यसको उचित व्यवस्थापन गर्न सकेका छैनन् ।
महानगरपालिका भित्रको वार्डहरू १, २, ३, ४, ५ र १९ को फोहरलाई व्यवस्थापन गर्ने जिम्मा नेपाल फूलबारी नामक संस्थालाई दिएको छ । उक्त क्षेत्रा नबेल मेडिकल कलेज एवम् हस्पिटल, हाम्रो अस्पताल, तापडिया आँखा अस्पताल, मोरङ सहकारी अस्पताल, लाइफगार्ड अस्पताल आदि रहेको छ ।
उक्त अस्पतालबाट निस्केको फोहर एवम् फोहरजन्य वस्तु उठाएबापत अस्पतालबाट नेपाल फूलबारी संस्थाले प्रत्येक महिना २५ हजारदेखि ५० हजारसम्म रकम लिन गरेको छ ।
स्वास्थ्य र शान्तिको लागि वातावरण नामक संस्थाले महानगरपालिका वडा नं. ६, ७, ९, ९, १०, ११ र १४ नम्बर वार्डको फोहर उठाउने जिम्मा लिएको छ ।
यस वार्डमा कोसी अस्पताल, गोल्डेन अस्पताल, सञ्जिविनी अस्पताल, गेटवेल अस्पताल, ग्रीनक्रस अस्पताल, न्युरो अस्पताल, सप्तकोसी अस्पताल लगायत केही निजी क्लिनिक ल्याब छन् ती स्थानबाट निस्केको दूषित फोहर उठाएबापत ५ हजारदेखि ६० हजारसम्म रकम लिने गरेको छ ।
महानगरपालिकाको वार्ड नं. १२, १३ १४, १५, १६, १८ नम्बर वार्डमा रहेको फोहर उठाउने जिम्मा आर.एस.डी. सप्लायर्सले लिएको छ । यहाँ आँखा अस्पताल, पोली क्लिनिक पनि छन् । त्यहाँबाट निस्केको फोहरहरूलाई उठाएबापत ५ हजारदेखि ५० हजारसम्म लिने गरेको छ ।
घर, होटेलबाट निस्कने फोहरभन्दा बढी दूषित फोहरहरू सरकारी एवम् निजी अस्पताल, पोली क्लिनिकबाट निस्कने गर्दछ । तर फोहर उठाई व्यवस्थापनको जिम्मा लिएको निकायले उक्त फोहरलाई कसरी व्यवस्थापन गरेको छ त्यसतर्फ महानगरपालिकाको ध्यान जान सकेको छैन ।
महानगरपालिकाले फोहर उठाउने जिम्मा लिएको संस्थाको ग्राहक बन्नुस् भनेर प्रचार गर्ने, दबाब दिने बाहेक कुनै काम गर्न सकेको छैन ।
सरकारी अस्पताल, निजी अस्पताल, पोली क्लिनिक ल्याबबाट निस्केको दूषित फोहरलाई एक ठाउँ राखेर फोहरलाई वर्गीकरण गरी फोहरलाई व्यवस्थित गर्ने खालको योजना अगाडि ल्याउन महानगरपालिकाले अग्रसरता देखाउनु जरुरी छ ।
घर, पसल, होटेलबाट निस्केको फोहरभन्दा अस्पताल, निजी पोली क्लिनिक, ल्याबबाट निस्केको फोहर मानव स्वास्थ्यको लागि हानिकारक छ ।