विराटनगर । विराटनगर भन्सार कार्यालय (आई.सी.पी.) प्रशासनले दरबन्दीअनुसार कर्मचारी पठाउन नसक्दा यात्रु शाखाद्वारा राजस्व सङ्कलनमा कमी आएको छ । पुरानो विराटनगर भन्सार कार्यालय रानीमा १ अधिकृत, २ जाँचकी, ३ जना नासु लगायत केहीको दरबन्दी रहे पनि दरबन्दी अनुसार कर्मचारीलाई भन्सार प्रशासनले खटाउन सकेको छैन ।
जोगबनीबाट व्यापारिक प्रयोजन र घरायसी प्रयोजनको सामान विराटनगरतर्फ ल्याइने गरेको छ । उक्त क्षेत्रमा कार्यरत APF को टोलीले गर्नुपर्ने सहजीकरण कति गरे यसतर्फ भन्सार प्रशासनले ध्यान दिएको पाइँदैन ।
उक्त स्थानमा रहेको यात्रु शाखाले ज्येष्ठ महिनामा भारतीय सवारी साधन सुविधा बाहेक ८ लाखभन्दा बढी राजस्व सङ्कलन गरेकोमा असार महिनामा ४ लाख पनि राजस्व सङ्कलन भएको थिएन । यसतर्फ भन्सार प्रशासन एवम् सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।
राजस्व कम उठ्नुलाई सामान ओसारपार भएन भन्सार छली कार्य कम भयो भन्न सकिँदैन । यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको टोलीले श्रावण ९ गते मात्र ठुलो परिणामको सामान नियन्त्रणमा विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको थियो ।
वि.१ह. १०९५ नम्बरको सिटी सफारी र को१च ९३७० नम्बरको मारुती गाडीलाई नियन्त्रणमा लिई चेक गर्दा ३४ हजार ४७० मूल्य बराबरको लेडिज कुर्ता, टप्स, जुत्ता सोल रहेको थियो । सिटी सफारीको मूल्य २ लाख ५० हजार रहेको छ भने मारुती गाडीको मूल्य विराटनगर भन्सार कार्यालय रानीले तोक्ने गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।
योबाहेक इलाका प्रहरी कार्यालय रानीले थप ३ वटा अटोसहित सामान पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
श्रावण महिनामा मात्र १४ लाख जतिको सवारी साधन र सामानहरू भन्सार कार्यालयमा बुझाएको कुरा इलाका प्रहरी कार्यालय रानीले बताएको छ ।
जोगबनी नेपाल-भारततर्फ पहिलो लाइनमा सशस्त्र प्रहरी बल नेपालको टोली रहेको छ । उक्त टोलीको प्रत्यक्ष निगरानी हुँदाहुँदै इलाका प्रहरी कार्यालय रानीले उक्त परिणामको सामान कसरी समाउन सफल भयो यसतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्छ ।
जोगबनीबाट सामान ल्याउने व्यापारिक प्रयोजन वा घरायसी प्रयोजनको सामान होस् एक प्रज्ञापन पत्रमा ५० हजारसम्म सामान ल्याउन पाउने र राजस्व तिर्नुपर्ने व्यवस्था भन्सार प्रशासनले गरेमा राजस्व चुहावटतर्फ कमी आउने थियो ।