विराटनगर । राजनीतिमा कोही पनि शत्रु हुँदैन आफू अनुकूल नहुँदा अर्को दलको नेतृत्व वर्ग शत्रु देखिने, आफू अनुकूल हुँदा आफूले देखेको शत्रु नै मित्र हुने संस्कारको विकास नेपालको राजनीतिमा भएको छ ।
नेपाली काङ्ग्रेसलाई विगतमा काम नलाग्ने बुढो रुख देख्नुहुने नेकपा एमालेका केन्द्रीय अध्यक्ष के.पी. शर्मा ओलीलाई नेपाली काङ्ग्रेसको काम नलाग्ने रुखले छहारी दिएपछि नेपाली काङ्ग्रेसलाई तरुण देख्नुभएको छ ।
के.पी. शर्मा ओलीलाई किर्ते प्रसाद ओली भनेर उपनाम दिनुहुने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विगतमा उपनाम दिँदै सम्बोधन गर्नुहुने किर्ते प्रसाद ओलीलाई के.पी. शर्मा ओलीको रूपमा देख्न थाल्नुभएको छ । यो एउटा राजनीतिमा देखिएको बौद्धिक दरिद्रता रहेको विश्लेषण बौद्धिक वर्गले गर्न थालेका छन् ।
नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच भएको सत्ता अंशबन्डाको असर प्रदेशमा पनि पर्न थालेको छ । यसले राजनीतिक अस्थिरताबाहेक अरू केही दिन सक्दैन ।
केन्द्रीय तहमा देखिएको सत्ता भागबन्डाको असर कोसीमा पनि परेको छ । कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई पछिल्लो समय सरकार विस्तार गर्न ठुलो सकस भएको छ ।
केन्द्रमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयुक्त सरकार बने पनि सोहीअनुसार कोसी प्रदेशमा सरकार बन्न सकेको छैन ।
कोसी प्रदेशबाट नेकपा माओवादी केन्द्रको अंशमा परेको मन्त्रालयका मन्त्रीले राजीनामा दिई बाटो खुला गरे पनि नेपाली काङ्ग्रेसले आफ्नो दलको तर्फ ककसलाई मन्त्री बनाउने भनेर टुङ्गो लगाउन सकेको छैन ।
राजाका पालामा मन्त्री हुन राजाको मुख ताक्नुपर्ने राजाको आशीर्वाद चाहिने तर गणतन्त्रमा दलका नेताको आशीर्वाद चाहिने भएको हुँदा दलका नेताले आशीर्वाद नदिएको कारण मन्त्री मण्डलले पूर्णता पाउन नसकेको हो । मन्त्रीको लागि कोसी प्रदेशका सभासद् भीम पराजुलीले इच्छा राखेको कुरा बाहिर आइरहेको छ ।
यस विषयमा कोसी प्रदेशका सभासद् भीम पराजुलीसँग जिज्ञासा राख्दा आफू कोसी प्रदेशको झन्डा हल्लाउने मात्रको मन्त्री हुन नचाहेको बताउनुभयो ।
आफू मन्त्रीको दौडमा छुइँन यहाँ काम गर्न भन्दा झन्डा हल्लाउने उद्देश्यले मन्त्री बन्ने दौडमा रहेका छन् । आफ्नो नेतृत्वमा राम्रो मन्त्रालयको जिम्मेवारीसहित पार्टीले पठाएमा त्यसलाई स्वीकार गर्ने पराजुलीले बताउनुभयो । तर आफू मन्त्री बन्नको लागि नकुदेको समेत पराजुलीको भनाइ छ ।
कोसी प्रदेशको हकमा नेपाली काङ्ग्रेसले अहिलेसम्म आफ्नो दलको तर्फ मन्त्रीको लागि नाम पठाउन सकेको छैन ।
यसले गर्दा मुख्यमन्त्री हिकमत कार्कीलाई मन्त्री मण्डल विस्तारमा समस्या आएको छ । नेपाली काङ्ग्रेस भित्र देखिएको गुट, उपगुटको कारण नेतामा भागबन्डा नमिलेको कारण समस्या आएको बताइन्छ ।