विराटनगर । विराटनगरमा तस्करी गर्ने समूह वा व्यक्तिले नवीन फण्डा अगाडि सार्ने गरेका छन् ।
उक्त फण्डा नेपालमा मात्र होइन भारतको जोगबनीमा समेत सोही फण्डाले काम गर्दै आएको छ ।
मानिसहरूले अनलाइनमा सर्च गरी आफूलाई चाहिने सामानहरू अनलाइनमार्फत मगाउने गरेका छन् । विराटनगरमा अनलाइनमार्फत सेवा दिने गरी कुन कुन व्यक्तिले अनुमति लिएका छन् यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन । अनलाइनमार्फत कपडाहरू मानिसले प्रयोग गर्ने अन्य सामानहरूसमेत मगाउने गरेको पाइएको छ । अनलाइनमार्फत मगाउँदा अनलाइन सेवा दिने व्यक्तिले आधिकारिक बिल दिने गरेको पाइँदैन । यसले गर्दा विराटनगरको बजारको अवस्था दैनिक नाजुक बन्दै गएको छ ।
अनलाइनबाट जोगबनीमा काम गर्नेले बिल बनाउनु पर्दैन केही सामान बिलअनुसार किन्ने गरेका छन् तर अधिकांश सामानहरू बिल बिना नै लिने गरेका छन् । यसले गर्दा अनलाइन व्यापार फस्टाउँदै गएको छ ।
विराटनगरमा केही अनलाइन व्यापार गर्नेले केही सामान भन्सारमा राजस्व तिरेर मगाउँछन् भने अधिकांश सामान भन्सार नतिरीकन मगाउने गरेका छन् ।
अनलाइनमार्फतको सामानलाई कुरियर गर्ने हवाईजहाजमार्फत अन्यत्र पठाउने गरेका छन् । यसलाई मध्यनजर गर्ने हो भने तस्करी गर्ने व्यक्तिले तस्करी कार्यलाई सहज बनाउन अनलाइनलाई सहारा लिने गरेका छन् ।
अनलाइनबाट सामान मगाउँदा सामान मगाउने व्यक्तिको हातमा गुणस्तरीय सामान आउँदैन यसको नियमन गर्ने निकाय पनि छैन ।
अनलाइनको कारण व्यापारीहरू गालामा हात राखेर बस्दै आएका छन् । अनलाइन कारोबारको कारण कर तिरेर सामान मगाउने र बिलबिजक जारी गर्ने व्यापारी मारमा छन् ।