विराटनगर । सहरी विकास तथा भवन कार्यालय कोसी प्रदेश विराटनगरले आफ्नो मातहतमा रहेको बहुवर्षिय योजनालाई पूर्णता दिने अभियानमा लागेको छ ।

कोसी प्रदेश सरकारले विनियोजन गरेको बजेट एवम् योजनामध्ये बहुवर्षिय १० वटा योजनाको काम तीव्र गतिमा भइरहेको छ ।

निर्माण व्यवसायीले काममा ढिलाइ गरेमा त्यसलाई सही मार्गमा ल्याउन कार्यालय प्रमुख, प्राविधिकहरू लागिरहनुभएको छ ।

बहुवर्षिय योजनामध्ये विराटनगर रानीमा बनाइरहेको आकाशे पुल तथा स्वागत द्वार निर्माणको लागि ६ करोड २५ लख २४ हजार ३४४ रुपैयाँ ८५ पैसा खर्च हुने गरी ठेक्का लागेकोमा अहिलेसम्म ६०% काम भइसकेको छ ।

यो आकाशे पुल तथा स्वागतद्वाराको लागि विराटनगर महानगरपालिकाले २५%, उद्योग सङ्गठन मोरङले ५% खर्च व्यहोर्ने भएको छ ।

यसको लागि कार्यालयबाट रकम निकासा कसरी गराउने भन्ने विषयमा गृहकार्य भइरहेको कुरा कार्यालय निकट सूत्रले बताएको छ ।

सुनवर्षीमा ३ करोड ९७ लाखको लागतमा वि.पी. कोइराला सेवा केन्द्र निर्माणको काम भइरहेको छ । वि.पी. कोइराला सेवा केन्द्रको निर्माणको काम ८५% भइसकेको छ भने १ करोड ९२ लाखमा पथरीमा निर्माण भइरहेको सामुदायिक भवन निर्माणको काम ७५% पुरा भइसकेको कुरा कार्यालय प्रमुख सुरेन्द्रकुमार सर्वोले बताउनुभयो ।

कटहरीमा सुशीला विश्वेश्वर स्मृति भवन निर्माणको लागि ३ करोड ४९ लाख बजेट विनियोजन गरेकोमा ७५% काम सम्पन्न भएको छ ।

विराटनगर ५ मा मानव सेवा आश्रम निर्माणको लागि १ करोड ७३ लाख बजेट छुटाइएकोमा ६०% काम भइसकेको छ भने विराटनगर २ मा डोरराज कोइराला स्मृति भवन निर्माणको लागि २ करोड ९६ लाख बजेट विनियोजन गरेकोमा ८०% काम भइसकेको छ भने सुनसरीमा रहेको कोसी रिप्रेसन परियोजनाको काम भइरहेको छ । यसको लागि ४७ करोड ५९ लाख बजेट विनियोजन गरेकोमा ६५% काम भइसकेको कार्यालय प्रमुख सुरेन्द्रकुमार सर्वोले बताउनुभयो ।

यी सबै योजनाहरू आर्थिक वर्ष २०८१/०८२ भित्र सम्पन्न हुने गरी काम भइरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया