विराटनगर । मोरङमा सञ्चालित स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन गर्न अपनाउनुपर्ने प्रावधानलाई धोती लगाइदिएको छ ।

मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गर्नेमा विराटनगरमा रहेको पारस अस्पताल निकै अगाडि रहेको छ ।

उक्त अस्पताल जहाँ सञ्चालनमा छ उक्त भवनलाई हेर्ने हो भने अस्पताल सञ्चालन गर्ने निकायले द्रव्य मोहमा परेर अस्पताल सञ्चालनको लागि अनुमति दिएको त होइन भनेर स्वास्थ्य संस्थामा निकै चर्चा पाएको छ ।

अस्पताल भित्र बाहिरी सूर्यको किरण प्रवेश गर्नुपर्छ, झ्यालको सिसा पनि सोही किसिमको हुन्छ । घामको प्रकाश भित्र प्रवेश गर्ने खालको हुनुपर्ने हुन्छ तर पारस अस्पतालको अवस्था हेर्दा उक्त प्रावधानलाई पालना गरेको छैन । अस्पताल सञ्चालन गर्ने अनुमति दिने निकायले कसरी दियो, कुन मापदण्डलाई टेकेर दिएको हो यसतर्फ अनुमति दिने निकायले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भएको छ ।

मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको पारस अस्पतालमा उपचार गराउने बिरामीमध्ये श्रावण र भदौमा ५ जनाको मृत्यु भएको छ ।

५० बेडको अनुमति लिएर सञ्चालनमा रहेको पारस अस्पताल श्रावण र भदौमा १४१९ जना बिरामीलाई भर्ना गराएर उपचार गरेको छ । उक्त उपचार गराइएका मध्ये ५ जनाको मृत्यु भएको कुरा विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

अस्पताल सञ्चालन गर्ने अनुमति लिँदा सयकडा १०% निःशुल्क उपचार गर्ने छु भनेर सहमति जनाए पनि उक्त सहमतिको कार्यान्वयन भने गर्न सकेको छैन ।

पारस अस्पतालले श्रावण र भदौमा अपाङ्ग ४ जना, ज्येष्ठ नागरिक ६२ जनालाई छुट गरेको, ओपिडीतर्फ ५६ जना, इमरजेन्सीमा २ जना, बेड शुल्क ८ जनालाई छुट गरेको कुराको जानकारी विराटनगर महानगरपालिकाले गराए पनि उक्त जानकारीलाई विश्वास गर्ने आधार महानगरपालिकालाई उपलब्ध गराएको छैन ।

यसलाई आधार मान्दा के-केमा छुट गरेको छ, चिकित्सक शुल्क मात्र हो, ओपिडीमा आएकोलाई मात्र हो कि यो विषय नै अन्योलमा रहेको छ । अस्पतालका जिम्मेवार व्यक्ति हेमनारायण मेहतासँग छुटको विषयमा जिज्ञासा राख्दा सरोकारवाला निकायलाई तथ्याङ्क दिइसकेको छु छुट लगायतको विषयमा तपाईँलाई मैले बताइरहनु पर्दैन भन्ने जवाफ दिनुभएको छ ।

छुट दिएको कुरा उल्लेख गरे पनि कुन कुन प्रकृतिमा कुन कुन कुरामा छुट दिएको यो कुरालाई पारस अस्पतालबाट लुकाइएको हुँदा यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

दुई महिनामा पारस अस्पतालले २४८ जनाको शल्यक्रिया गरेको छ । यो सानोदेखि ठुलो प्रकृतिको शल्यक्रिया गरेको कुरा महानगरपालिकाले पारस अस्पतालले उपलब्ध गराएको तथ्याङ्कको आधारमा बताएको छ ।

तपाईको प्रतिक्रिया