विराटनगर । अटिजम स्नायु विकास सम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्दछ ।

यसको पहिचान गरी अटिजमबाट हुने जोखिमलाई कम गर्न विराटनगर महानगरपालिकाले तत्परता देखाउँदै आएको छ ।

हालसम्म अटिजमको निश्चित कारण यही हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुन सक्ने औँल्याएको छ । साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणले पनि अटिजमको जोखिम बढेको पाइएको छ ।

अटिजमको उपचारको वारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ, जसमा अभिभावकलाई बच्चाको व्यवहारिक सिप विकासमा सहयोग गर्ने पद्धति सिकाइन्छ । यो भनेको विहेविएरल थेरापी हो । जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय)लाई कसरी सही तरिकाले प्रयोग गर्ने भनेर सिकाइन्छ ।

विगतमा आदर्श माध्यमिक विद्यालयमा अटिजमबाट ग्रसित बालबालिकाको हेरचाह, उनीहरूलाई सकारात्मक सन्देश दिने, बच्चालाई सकारात्मक कुरा सिकाउने काम गर्दे आएको थियो ।

यसलाई सहयोग विराटनगर महानगरपालिकाले गर्दै आएकोमा स्थान अभाव, ठाउँ सानो भएको कारण विराटनगर महानगरपालिकाले विराटनगर-४, दूध फारम छेउमा घर भाडा लिएर आदर्श स्कुलबाट सारिएको छ ।

विराटनगर महानगरपालिकाले अटिजमको समस्याबाट बालबालिकालाई पीडित हुन नदिनको लागि आर्थिक वर्ष २०८१/०८२ मा १ करोड १५ लाखभन्दा बढी रकम विनियोजन गरेको छ । महिनाको ३३ हजार घर भाडा लिएर सञ्चालन गरिएको अटिजमको जोखिममा परेका बालबालिकालाई बिहान ९ बजेदेखि ३ बजेसम्म राखेर उनीहरूलाई हेरविचार गर्न ९ जना कर्मचारी नियुक्ति गरेको कुरा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा निकट सूत्रले बताएको छ ।

अहिले २५ जना विद्यार्थी रहेका छन् । महानगरपालिकाले बच्चा भएको घर नजिकको चोकमा गाडी राखेर बच्चालाई ल्याउने र पुर्‍याउने काम गर्दै आएको छ ।

यसको लागि करुणा फाउन्डेसनको प्राविधिक सहयोग रहेको छ । महानगरपालिकाले घर भाडामा लिए पनि उक्त घरको कोठाको मर्मत लगायत विद्यार्थी लडे पनि चोटपटक नलाग्ने गरी अन्य व्यवस्थापन समेत गरिएको छ ।

अन्य जिल्लामा गैरसरकारी सङ्घसंस्थाले अटिजम लागेको बच्चाको पहिचान गर्दै उपचार गर्दै आएको छ भने स्थानीय सरकारबाट सञ्चालन गरिएको यो पहिलो हो ।

करुणा फाउन्डेसनले काठमाडौँ लगेर तालिम दिलाउने काम र अन्य प्राविधिक सहयोग करुणा फाउन्डेसनले गर्दै आएको कुरा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया