विराटनगर । नेपाल-भारतको अन्तर्राष्ट्रिय नाकाको रूपमा विराटनगर जोगबनी प्रवेशद्वारलाई मानिँदै आएको छ ।
उक्त क्षेत्रमा खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरीले उच्च महत्त्व राख्दै काम गर्दै आएका छन् । यसरी काम गर्दागर्दै आफ्नो मातहतका प्रमुख र केही सञ्चारकर्मीको दबाब र प्रभावमा पर्ने गरेका छन् ।
सुरक्षा उच्च अधिकारीले आफ्नो मातहतका युनिट प्रमुखलाई सीमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई रोक्नुपर्ने, तस्करी हुन नदिने भनेर निर्देशन दिने गरेका छन् ।
उक्त निर्देशन दिएको केही दिनपछि मेरो मानिस जोगबनी गएको छ सामान ल्याउँदै छ सहजीकरण गरिदिनु उनीहरूको सामानलाई अवरोध नहुने गरी ल्याउन दिनु भनेर भन्ने गरेका छन् भने केही आफूलाई पत्रकार भन्ने र प्रेस लेखिएको सवारी साधनलाई प्रयोग गरी तस्करलाई बोकेर तस्करीको सामान गन्तव्यतर्फ पुर्याइदिने गरेका छन् ।
केही सञ्चारकर्मीले अप्रत्यक्ष रूपमा तस्करसँग सहकार्य गरी तस्करी गरिरहेको कुरा थाहा पाए पनि उक्त सामानलाई नियन्त्रणमा लिने काम गर्न सकेका छैनन् ।
२०७६ साल श्रावण १२ गते राजपत्रमा एक सूचना प्रकाशित गर्दै नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सुरक्षा एन २०७६ को दफा १५ को उपदफा १६ मा लेखिदिएको अधिकार प्रयोग गरी नेपालमा प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन- आयात, बिक्री वितरण, भण्डारण गर्न पूर्ण रोक लगाएको छ । यो रोक राजपत्रमा मात्र सीमित रहेको छ । यसको बिक्री वितरण भण्डारण भइरहेको छ । यसलाई कसले हेर्ने यसको जवाफ नियमनकारी निकायले दिनुपर्ने भएको छ ।
विराटनगरमा रहेको फूल पसल, डेकोरेसन गर्ने फूल पसलबाट बेलाबेलामा बिक्री वितरण हुने गरेको छ । भारतको जोगबनीबाट ल्याएर विराटनगर भन्सार क्षेत्रभित्र प्लास्टिकजन्य फूलको बिक्री वितरण भइरहेको छ ।
विराटनगर भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूले देखे पनि नदेखे जस्तो गरेर बस्ने गरेका छन् ।
बुधवार नेपाल प्रहरीका डी.आई.जी. बाट सीमा प्रहरी कार्यालय रानीको प्रहरी युनिटलाई मेरो मानिसले जोगबनीबाट सामान ल्याउँदै छन् पूजाको लागि सहजीकरण गर्ने भनेपछि त्यहाँ कार्यरत नेपाल प्रहरीका व्यक्तिलाई सहजीकरण गर्न हम्मे हम्मे भएको थियो । दुई जना महिलाले रिक्सामा अन्दाजी ३ लाख बराबरको सामान ल्याएर रिक्सासहित ३ नम्बर गेटबाट कटाउन खोज्दा सशस्त्र प्रहरीको टोलीले रोक्ने प्रयास गरे पनि नेपाल प्रहरीको डी.आइ.जी. को मानिसको सामान हो भनेर भनेपछि सशस्त्र प्रहरीले सामान रोक्ने र २ नम्बर गेटबाट लान भन्ने हिम्मत गरेको पाइएन ।
उक्त रिक्सामा सामान लादै गरेको देखेपछि विराटनगर भन्सार कार्यालय रानीमा कार्यरत कर्मचारीले सुरुमा रोक्ने प्रयास गरे पनि डी.आई.जी.को मानिसको सामान भनेपछि त्यसलाई नियन्त्रणमा लिई राजस्व तिराउने काम गर्न सकेको पाइएन ।
यसरी ठुला मानिसले सामान ल्याउँदा आफ्नो अधिकार प्रयोग गर्ने नसक्ने तर थोरै २/४ पिस सामान ल्याउँदा भन्सार काट्नुपर्ने जुन व्यवस्था कायमै छ ।
अहिले अनलाइनबाट जोगबनी सामान भगाउने तर भन्सार तिर्न नमान्ने प्रवृत्तिको विकास भएको छ ।
आफूलाई बौद्धिक वर्गको रूपमा व्याख्या गर्ने व्यक्तिले अनलाइनबाट मगाएको सामानको राजस्व लिन पाइँदैन भनेर दबाब दिए पनि अन्तमा राजस्व असुल गर्ने काम भएको थियो ।