विराटनगर । विराटनगरमा पछिल्लो समय ओझेलमा परेको भनिएको हुन्डीको कारोबार पुनः सञ्चालनमा आइरहेको कुराले विराटनगरमा चर्चा पाउन थालेको छ ।
विगतमा हुन्डीको बादसाहको रूपमा मानिँदै आएका केही ट्रेडिङ, ट्रेडर्स र सटही काउन्टरका सञ्चालकहरूले धेरै बसेर हुन्डीको कारोबार गर्दै आएको कुराले व्यापकता पाउन थालेको छ ।
विगतमा ट्रेडिङ, ट्रेडर्स र सटही काउन्टर सञ्चालकहरूले आफ्नो कारोबार बन्द भएको देखाएका छन् । उक्त ट्रेडिङ, ट्रेडर्स र सटही काउन्टर कति कतै देखिँदैन अहिले उनीहरूले पसल थाप्नु पर्दैन, उनीहरूको घरबाटै हुन्डीको कारोबार हुने गरेको बताइन्छ ।
अहिले पनि मातृका मार्ग, अतिथि सदन छेउछाउ, नेपाल बैङ्क लिमिटेडदेखि जलजला चोक, संसारी माईस्थानदेखि भूमि प्रशासन चोक, रेम्बो गल्ली लगायत आधा दर्जन भन्दा बढीको गल्लीमा रहेका केही व्यक्तिले हुन्डीको कारोबार गरिरहेका छन् ।
यसरी हुन्डीको कारोबार गर्नेहरूले विभिन्न माध्यमबाट भारतीय रुपैयाँ नेपाल ल्याउने र केही उद्योग सञ्चालकलाई उक्त रकम दिने गरेका छन् । पूर्वमा सञ्चालित अधिकांश उद्योगमा मेसिन चलाउने व्यक्ति लगायत महत्त्वपूर्ण स्थानमा रहेका अधिकांश भारतीय नागरिक हुन्छन् । उनीहरूलाई भारतीय रुपैयाँमा तलब खुवाउनुपर्छ । यसरी तलब खुवाउँदा भारतीय रुपैयाँको जोगाड गर्नुपर्ने कुरा एक उद्योगमा कार्यरत एक व्यक्तिले बताएका छन् । उनीहरू सटही काउन्टरमा गएर रुपैयाँ साट्दैनन् । उनीहरू भारतीय १०० रुपैयाँ लिँदैनन्, भारतीय ५०० रुपैयाँदेखि माथिको रुपैयाँ दिनुपर्छ । उक्त रकम कसरी जोगाड गर्दछन् यो सबैको लागि चासोको विषय बनेको छ ।
कतिपय उद्योगले भारतबाट सामान मगाउँदा सामानसँगै भारतीय रुपैयाँ पनि मगाउने गरेका छन् । यो कारोबार गर्न पहिले नेपालमै बसेकाहरू अहिले भारत बसेर भारतीय रुपैयाँ नेपाल पठाउने गरेका छन् ।
नेपालमा बसोबास गर्ने नेपालीहरूको पारिवारिक सम्बन्ध भारतमा रहेको छ । भारतीय रुपैयाँ सङ्कलन गर्न कुनै समस्या नपर्ने तर नेपालतर्फ पठाउन समस्या पर्ने हुँदा हुन्डीमार्फत भारतीय रुपैयाँ पढाइने गरेको छ ।
हुन्डीमार्फत नेपालतर्फ भारतीय रुपैयाँ मात्र होइन नेपाली रुपैयाँ पनि आइरहेको छ । यो अवैधानिक हुन्डी हो । यसलाई नेपालले कानुनी मान्यता दिएको पाइँदैन ।