विराटनगर । “सङ्घीयताको खारेजी, राजसंस्थाको स्थापना, हिन्दु राज्य स्थापना हाम्रो अर्जुन दृष्टि हो योभन्दा बाहेक हाम्रो कुनै उद्देश्य छैन” राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा नेपाल मोरङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्नुहुनेलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
अहिले मुलुकको अवस्था हेर्दा राष्ट्रवादी शक्ति, हिन्दुवादी सङ्घ सङ्गठनहरू एक हुनु जरुरी छ । विदेशीको इसारामा नाच्ने राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबाट मुलुकलाई दोहन गर्ने काम भइरहेको भन्नुहुँदै मुलुकलाई दोहन हुनबाट जोगाउन सङ्घीयता खारेजी राज संस्थाको स्थापना, सर्व धर्म सापेक्ष हिन्दु राज्य आवश्यक छ यो ल्याउन आन्दोलन जरुरी छ । उक्त आन्दोलनको नेतृत्व गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न नेतृत्व लिन राप्रपा अगाडि बढेमा राप्रपाले लिएको नेतृत्वमुनि बसेर आन्दोलनलाई उचाइमा पुर्याउन राप्रपा नेपाल तयार छ, थापाले भन्नुभयो ।
नेपालमा भएको २०६२/०६३ को आन्दोलन बाह्य शक्ति र माओवादीको उक्साहटमा नेपालका राजनीति शक्तिबाट भएको हो । यसको सम्पूर्ण प्रायोजन विदेशी शक्तिबाट गरिएको र विदेशी शक्तिबाटै नेपालमा सङ्घीयता, धर्म निरपेक्षता लाद्नुको साथै राजसंस्थाको अन्त गरिएको हो भन्नुभयो । सङ्घीयता, धर्म निरपेक्षता नामक यो व्यवस्थालाई जरैबाट फाल्न आन्दोलन आवश्यक छ भन्नुभयो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाल विद्वत परिषद्का पूर्वाञ्चल अध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष वल्लभप्रसाद दाहालको नेतृत्वमा ५ दर्जन बढीले राप्रपा नेपालमा प्रवेश गर्नुभएको थियो ।
उक्त प्रवेश कार्यक्रममा नेपाल विद्वत परिषद्का केन्द्रीय उपाध्यक्ष जितबहादुर अर्जेन, पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल, राप्रपा नेपाल पूर्वाञ्चल संयोजक माधवप्रसाद आचार्य, नव प्रवेशी वल्लभप्रसाद दाहाल, नेपाल एकता पार्टीका महामन्त्री भूपेन्द्र भण्डारी, गोमा अधिकारी लगायतले बोल्नुभएको थियो ।
सङ्घीयताको खारेजी, राजसंस्थाको स्थापना, हिन्दु राज्य स्थापनाको लागि हुने आन्दोलनलाई उचाइमा पुर्याउनेतर्फ आफू लागिपर्ने वल्लभप्रसाद दाहालले बताउनुभयो ।