विराटनगर । लोकसेवा पास भएपछि पास हुने कर्मचारीको लागि केही महिना परीक्षण काल जसरी हुने गर्दछ त्यसै गरी कारोबारीको लागि परीक्षण काल सुरु भएको छ ।

१ महिनादेखि मोरङ जिल्लाको रानी विराटनगरका नाका, रानी चाइना मार्केट क्षेत्रको नाका, हुलासचोक, दरैया, स्लामापुर, मटेरुवा नाकाबाट कारोबारीहरूले परीक्षण काल स्वरूप काम गर्न थालेका छन् ।

उक्त नाकामध्ये रानी-चाइना मार्केटबाट परीक्षण कालको रूपमा काम हुन थालेको छ । उक्त नाकाबाट काम गर्नेहरूले हुलासचोक बाटो र राइस मिल नजिकको बाटो हुँदै बाबा सिनेमा हलतर्फ सामानहरू लाने गरेका छन् ।

उक्त बाटोबाट सामान लानेले विराटनगरतर्फ सामान ल्याउँदैनन् । विराटनगरको सुँडी बस्ती र हडताली हाटसम्म पुर्‍याउने गरेका छन् । उक्त बाटोबाट सामान बोक्ने एक कारोबारीले २ नम्बर गेटबाट सामान लाँदा समस्या पर्ने र बीच बीचमा रकम दिनुपर्ने हुन्छ तर चाइना मार्केटबाट समान निकाल्दा त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई मिलाउँदा हुन्छ भन्ने कुरा बताएका छन् ।

मूल नाकाबाट सामानहरू आइरहेको छ । नयाँ सशस्त्र प्रहरीको टोली आएपछि उनीहरूलाई आफ्नो घरको लागि भन्दै ठूलो परिणामको चिनी, दाल, मटर, काजु ल्याइरहेका छन् ।

घरायसी सामान भनेर ल्याउने उक्त व्यक्तिले २ मनभन्दा बढी परिणामको उक्त वस्तु ल्याइरहेका छन् । यसतर्फ त्यहाँ कार्यरत सशस्त्र प्रहरीको ध्यान गएको छैन ।

त्यहाँ कार्यरत उच्च सशस्त्र प्रहरीका व्यक्तिसँग कारोबारीले गफ गर्ने र तल्लो तहकालाई मानसिक रूपमा दबाब दिने काम भइरहेको छ । थाहा नपाउने हिसाबले काम भइरहेको छ । यसलाई सबैले परीक्षण कालको रूपमा लिएका छन् । विराटनगरका व्यापारीले जोगबनीमा सामान किनेर गोदाममा राख्ने र बोक्नेमार्फत सामान ल्याइरहेका छन् ।

एक कारोबारीका सहयोगीले मंसिर अन्तिममा लाइन खुल्ने कुरा आफूलाई आफ्नो साहुले बताएको कुरा बताएका छन् ।

त्यहाँको पछिल्लो अवस्था हेर्दा पौषदेखि पूर्ण रूपमा हरियो झन्डा फहरिने सम्भावना बढेर गएको छ ।

सामान ल्याउनु ठूलो कुरा होइन । सामान के ल्याएका छन् उनीहरूले ? भने अनुसारको सामान ल्याएका छन् कि नेपाल सरकारले प्रतिबन्ध लगाएको सामान ल्याएका छन् यो बुझ्नु जरुरी छ ।

यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया