विराटनगर । गणतन्त्रलाई खुला रूपमा चुनौती दिँदै राप्रपा नेपालले पूर्वाञ्चल कार्यसमिति विस्तारित बैठक विराटनगरमा सम्पन्न गरेको छ । राप्रपा नेपाल पूर्वाञ्चल कार्यसमितिका अध्यक्ष माधवप्रसाद आचार्यको सभापतित्वमा बसेको उक्त विस्तारित बैठकले पूर्वाञ्चल कार्यसमितिमा पदाधिकारी मनोनयन गरेको छ ।
उक्त समितिको उपाध्यक्षमा क्रमशः भरतप्रसाद पोखरेल, टङ्क दुलाल, गोमा न्यौपाने, मनोज कोइराला, जगतप्रसाद ढकाल, सचिवमा पुष्पराज दाहाल, सहसचिवमा क्रमशः राजकुमारी मेहता, प्रदीप ढकाल, उत्सव दाहाल, सह प्रवक्तामा वसन्त बन्धुलाई मनोनयन गरेको कुरा पूर्वाञ्चल अध्यक्ष माधवप्रसाद आचार्यले उक्त बैठकमा जानकारी गराउनुभयो । राप्रपा नेपाल पूर्वाञ्चल कार्यसमितिमा अन्य केही पार्टीका कार्यकर्तालाई पनि मनोनयन गर्नुभएको थियो ।
उक्त विस्तारित बैठकमा राप्रपा नेपाल मोरङका अध्यक्ष कुमार ढकालले केही कार्यकर्तालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको थियो । राप्रपा नेपाल मोरङ जिल्ला समितिमा अध्यक्षमा धिरेन्द्र कार्की र नगेन्द्र माझी, सहसचिवमा क्रमशः कालुराम चौधरी, दिलीप यादव, मोहम्मद अन्सारी, नारायणप्रसाद बराल र सदस्यमा सन्तोष पोखरेल लगायतलाई मनोनयन गर्नुभएको बताउनुभयो । यसरी मनोनीत सबैलाई राप्रपा नेपाल केन्द्रीय उपाध्यक्ष वल्लभप्रसाद दाहालले स्वागत एवम् सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष वल्लभप्रसाद दाहालले विष्णुबहादुर थापा र छुमरु सरदारलाई राप्रपा नेपालको आमन्त्रित केन्द्रीय सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मनोनीत गर्नुभएको कुराको जानकारी गराउनुभएको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष वल्लभप्रसाद दाहालले नेपाल हराएको अवस्था छ । हराएको नेपाललाई साबिक स्थानमा ल्याउनु जरुरी छ भन्नुभयो ।
राप्रपा नेपाल पार्टी मात्र होइन राप्रपा नेपालले क्रान्तिकारी विचार बोकेको छ हामी सबै क्रान्तिमा होमिएका छौ । हामीले व्यवस्थालाई परिवर्तन गरी हराएको नेपाल र राजसंस्थालाई स्थापित गर्न लाग्नुपर्छ दाहालले भन्नुभयो ।
हामीले बोलेको क्रान्तिको ज्वालालाई निभ्न दिनु हुँदैन दाहालको तर्क थियो ।