विराटनगर । केही समयदेखि मोरङमा प्रेस शब्दको व्यापक दुरुपयोग हुने गरेको छ ।

आफ्नो सवारी साधनमा छापाखाना सञ्चालक, नेट जोड्ने व्यक्ति र आफूलाई सञ्चारकर्मी भनेर चिनाउने व्यक्तिले प्रेस लेखेर आ-आफ्नो तरिकाले काम गरिरहेका छन् ।

अहिले सवारी साधनमा प्रेस लेखेपछि कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीले सम्मान गर्ने गरेको हुँदा सोही शब्दलाई भजाएर आ-आफ्नो तरिकाले आफ्नो इच्छाअनुसार काम गरिरहेका छन् । केहीले प्रेस शब्दको आडमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोगबनीबाट सामान किनेर ल्याउने व्यापारीलाई सहयोग गरिरहेका छन् भने उनीहरूको समान समाएमा दबाब समेत दिँदै सामान छोड्न बाध्य पारेका छन् ।
अहिले प्रेस लेखिएको सवारी साधन जोगबनीको रेल्वे स्टेसनमा राख्ने र कपडा, खाद्यान्न र अन्य वस्तु उक्त सवारी साधनमा हालेर सामान ओसार पसार समेत गर्ने गरेका छन् ।

उहाँहरूको मान्यता छ तस्करी गर्न दिनुपर्छ, सुरक्षा निकायले सामान हेर्नु हुँदैन भन्ने मान्यता राखेका छन् भने कार्यक्षेत्रमा खटिएका केही सुरक्षाकर्मीले उक्त मान्यतालाई मूर्त रूप दिइरहेका छन् ।

जोगबनी नाका इस्लामापुर, मटेरुवा, हुलासचोक, चाइना मार्केट, दरैया आदि स्थानबाट सामान आउने गरेको छ । सामान समाएपछि सामान समाउने निकायले तत्काल भन्सार कार्यालयमा बुझाउँदैनन् । २/४ दिन आफूसँगै सामान राख्ने गरेका छन् । यसले गर्दा दबाबको सामना गर्नुपरेको छ । सुरक्षा निकायले हरेक व्यक्तिमाथि निगरानी राख्नुपर्छ । सामान के ल्याएका छन् हेर्नुपर्छ तर हेर्ने गरिँदैन । यसले गर्दा राज्यलाई हानि हुने वस्तु भित्रिन सक्ने सम्भावना बढी देखिन्छ ।

खुला सिमाना छ । ब्राउन सुगर, हातहतियार नआउला भन्न सकिँदैन । जस जसप्रति सुरक्षा निकायको ध्यान जाँदैन, विश्वास गर्दछ उनलाई प्रयोग नगर्लान् भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया