विराटनगर । खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण एवम् विषादी अवशेष परीक्षण कार्यालय विराटनगर आफ्नो कामलाई निरन्तरता दिँदै आएको छ । यो कार्यालयले २०८१ श्रावणदेखि पौषसम्म ६ महिनामा २७३५ वटा विभिन्न प्रकृतिको सामानहरूको विषादी अवशेष परीक्षण गरी गुणस्तर प्रमाणीकरण गरेपछि विराटनगर भन्सार कार्यालय रानी (आइसिपी) ले उक्त सामानको भन्सार जाँच पास गरेको छ ।

यसरी विषादी अवशेष परीक्षणबाट १४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको कुरा कार्यालयले बताएको छ ।

विराटनगर भन्सार कार्यालयले विषादी अवशेष परीक्षणको लागि दूध तथा दुग्ध पदार्थको नमुना एउटै पनि पठाएको छैन ।

तेल तथा घिउको नमुना ३८८ वटा परीक्षणको लागि पठाएको उक्त नमुना पठाएपछि ८६ हजार ८४ मेट्रिक टन तेल तथा घिउ आयात भएको छ ।

६ महिनामा मसला पदार्थ २७८४ मेट्रिक टन, गुलियो पदार्थ ५३३ मेट्रिक टन, कन्फेक्सनरी ७८४ मेट्रिक टन सामान आयात गरिएको बताइन्छ ।

खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थ ६ महिनामा ९१६८ मेट्रिक टन, आहार पूरक खाद्यपदार्थ १२१ मेट्रिक टन, नुन २२ हजार ५५ मेट्रिक टन आयात भएको छ ।

ताजा आलु ३२ मेट्रिक टन आयात हुँदा उक्त आलुको विषादी नमुना परीक्षण गर्दा सुरुमा OP ३७.५७ विषादी फेला परेको थियो । दुई दिनपछि पुनः परीक्षण गर्दा ३३.३७% OP भएपछि उक्त आलु आयात गर्न स्वीकृति दिने काम कार्यालयबाट भएको थियो ।

खुला सिमानाको कारण भारतबाट आलु एवम् अन्य तरकारी नेपाल आउँदा विषादीको मात्रा कति हुन्छ सो पत्ता लगाउन नसकिने हुँदा नेपाली बजारमा विषादीको मात्रा बढिभएको तरकारी, फलफूल पाइने गरेको आशङ्का सर्वत्र गर्न थालिएको छ ।

नेपालमा किसानले तरकारी खेती गरेका छन्, थोरै समय अवधिमा तरकारी उत्पादन गर्न भरपुर विषादीको प्रयोग गर्ने गरिएको छ । अहिले समूहमा आधारित खेती-तरकारी गरिन्छ । उनीहरूलाई विषादी धेरै प्रयोग गर्दा विषादीबाट हुने मानव स्वास्थ्यप्रति हुने हानिको बारेमा स्थानीय तहबाटै सचेतना ल्याउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया