विराटनगर । घरजग्गा खरिद बिक्री, हाल साबिक र जग्गा प्लटिङ गर्दा बाटो कायम गर्नुपर्ने व्यक्तिहरूमाथि नापी कार्यालय मोरङद्वारा ठुलो मात्रामा खाजस्वको माग गर्ने गरेका छन् ।
नापी कार्यालय मोरङ विराटनगरबाट सेवाग्राहीलाई सेवा दिने नाममा सेवाग्राहीले जग्गाको नक्सा प्रिन्ट मागेमा सुरुमा उक्त कित्ताको जग्गा देखिँदैन भनेर सेवाग्राहीलाई निराश पार्ने पछि रकममा कुरा मिलेपछि सेवाग्राहीले माग गरेको कित्ता नम्बर भएको नक्सा उपलब्ध गराउने काम भइरहेको छ ।
नापी कार्यालय मोरङमा भूमाफिया, बिचौलियाको इशारामा काम भइरहेको छ । यसलाई हेर्दा भूमाफिया र बिचौलियालाई सम्पर्क नगरीकन गएमा काम निकाल्न निकै कठिनाइ हुने गरेको छ ।
जग्गाधनीले जग्गाको नरवढी कायम गर्ने प्रक्रियालाई अगाडि बढाए पनि नापी कार्यालय मोरङले जग्गाधनीको कूल जग्गामा कति बढी देखिन्छ त्यसमा जग्गाको परिणामअनुसार राजस्वभन्दा ५० गुणा बढी रकम दिएमा नरवढी जग्गालाई मिलान गर्ने काम भइरहेको नापी कार्यालय मोरङ निकट सूत्रले बताएको छ ।
धेरै परिणामको जग्गा खरिद गरी जग्गा प्लटिङ गर्दा जुन बाटो कायम गरिन्छ त्यसमा कूल जग्गाको मूल्यको आधारमा मोटो रकम लिएर जग्गा प्लटिङको बाटो कायम गर्ने काम नापी कार्यालय मोरङबाट भइरहेको छ ।
यसरी हुने मोटो खाजस्वको बाँडफाँड माथिल्लो तहका जिम्मेवार व्यक्तिदेखि तल्लो तहका कर्मचारीलाई दामासाहीमा वितरण गर्ने गरेको कुराले निकै चर्चा पाउन थालेको छ ।
तर बढी कायम र जग्गा प्लटिङ गरी जग्गाको बाटो कायम गर्ने जग्गाधनीले बाध्यतावश रकम खुवाउनु परेको बताइन्छ ।
यसतर्फ नापी कार्यालय मोरङको गतिविधिलाई हेर्दा नापी कार्यालय मोरङ भूमाफिया र बिचौलियाको इशारामा नाचिरहेको त छैन यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन । कतिपय जग्गा प्लटिङमा बाटो कायम गर्दा महानगरपालिकाभित्र तोकिएको मापदण्डभन्दा कम बाटो कायम गर्ने काम नापी कार्यालय मोरङबाट भइरहेको छ भने अन्यको हकमा पनि मापदण्डभन्दा कम बाटो कायम गर्ने काम भइरहेको छ ।
यस विषयमा नापी कार्यालय मोरङ विराटनगरका नापी अधिकृत सूचना अधिकारी मिथलेश कुमार यादवसँग जिज्ञासा राख्दा यस्ता नहुनुपर्ने हो । कसैले गुनासो गरेमा कोबाट भएको हो कारबाही गरिन्छ भन्नुभयो ।