विराटनगर । रात्रिकालीन समयमा सञ्चालन हुन गइरहेको रमपम विराट गोल्ड कप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न आयोजकलाई विगतको जस्तो सहज देखिएको छैन ।
विराट गोल्ड कप फुटबल ट्रस्टले उक्त गोल्ड कप सञ्चालन गर्ने जिम्मा नवीन रिजाललाई दिएपछि उहाँले २८ दिन लगाएर फागुन १९ देखि २८ सम्म रमपम विराट गोल्ड कप सञ्चालन गर्ने हुनुभएको छ ।
यस पटकको गोल्ड कपको प्रचार प्रसार गोल्ड कपको पेज बनाई फेसबुक, टिकटक, युट्युबमार्फत प्रचारप्रसार गरेर गोल्ड कपको आडमा रमपम चाउचाउको प्रसार गर्ने काम भइरहेको र अहिलेसम्म ४० हजारले हेरिसकेको बताइन्छ ।
राजनीतिक नेता गोल्ड कप, मेयर गोल्ड कप, राष्ट्रपति गोल्ड कप, मुख्यमन्त्री गोल्ड कप सञ्चालनमा सरकारको मातहतमा रहेको निकायले खर्च गरी रहेका छन् भने निजी स्तरबाट सञ्चालन हुने गोल्ड कप टुर्नामेन्टलाई सहयोग गर्नेतर्फ खासै ध्यान दिएको पाइँदैन ।
रमपम विराट गोल्ड कप फुटबल टुर्नामेन्ट सञ्चालन गर्ने शहीद मैदान नदिनेतर्फ जिल्ला खेलकुद विकास समिति मोरङले राखेको सर्तलाई पूरा नगरेमा मैदानमा फुटबल हुन नदिने ताला लगाइदिने धम्की दिएर हतोत्साहित पार्ने कामलाई आयोजकले निस्तेज पार्ने काम भएको छ ।
जिल्ला खेलकुद विकास समिति मोरङले ५१ हजार नगद दिने विषयमा सहमति भएपछि आयोजक उत्साहित भए पनि बिच-बिचमा अवरोध आउन सक्ने सम्भावना कायमै रहेको छ ।
फुटबल खेलमा रेफ्री र अम्पायरको महत्त्वपूर्ण भूमिका हुन्छ । सुरुमा आउने प्रतिबद्धता जाहेर गरेका केही रेफ्री र अम्पायर अन्तिम समयमा उपस्थित हुन नसक्ने कुराको जानकारी गराइसकेको हुँदा यसको जोहो गर्न आयोजकलाई कति मेहनत गर्नुपर्छ सो पछि थाहा हुनेछ ।
मुख्य प्रायोजक, गोल्ड प्रायोजक, सिल्भर प्रायोजक लगायत अन्य प्रायोजक १ करोड रकम उठ्ने अनुमान आयोजकबाट गरिएको रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिताका संयोजक नवीन रिजालले बताउनुभयो ।
१ करोड ३३ लाख खर्च हुने अनुमान गरिएको छ । टिकटबाट ३३ लाख उठेमा गोल्ड कपमा घाटा नहुने बताइन्छ ।
टिकटक, फेसबुक, युट्युबबाट बढी प्रचार भएको हुँदा खेलमैदानमा दर्शक कतिको आउँछन् सो हेर्न बाँकी छ ।