विराटनगर । खुला सिमानाको कारण अवैध तरिकाले सामान ओसार-पसार गर्ने कार्यलाई सुरक्षा निकायले न्यूनीकरण गर्न सकेको छैन ।

फिल्डमा खटिने सुरक्षा निकाय अन्तर्गतको सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबिच समन्वय नहुँदा भारतको जोगबनीबाट अवैध तरिकाले सुरक्षा निकायकै आँखा अगाडिबाट तस्करी धन्धा निर्वाध रूपमा चलिरहेको छ ।

मोरङ जिल्ला मात्र होइन पूर्वको तराईको अधिकांश जिल्लाहरू भारतसँग जोडिएको छ । भारतीय बजारलाई नेपालीले गुलजार बनाइरहेका छन् । यसलाई कसैले अस्वीकार गर्न सक्दैन ।

मोरङ जिल्लाको जोगबनी नाका, मेटरुवा नाका, दरैया नाका, स्लामापुर नाकालाई तस्करीको लागि उद्‌गम स्थलको रूपमा हेर्ने गरिएको छ । यी नाकामै सशस्त्र प्रहरी बल नेपाल पहिलो लाइनमा, नेपाल प्रहरी दोस्रो लाइनमा रहेका छन् । यति हुँदाहुँदै पनि तस्करीका सामानहरू निर्बाध रूपमा आइरहेको छ । यसलाई न्यूनीकरण गर्नेतर्फ कुनै कदम चालेको पाइँदैन ।

विराटनगर-धरान सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई नेपाल प्रहरीले सुनसरी प्रवेश गर्ने दुहबी पुल कटेपछि कुकुर प्रयोग गरी चेकजाँच गर्न थालिएको छ ।

कुकुर प्रयोग गरी चेकजाँच गर्न खटिएका प्रहरीको भनाइ छ- लागु औषधलगायत अन्य सामानहरू तस्करी गरी ल्याउने गरिएको हुँदा त्यसलाई न्यूनीकरण गर्न कुकुर प्रयोग गरी चेकजाँच गरिएको बताएका थिए ।

यसलाई हेर्दा विराटनगर अहिले लागु औषध र तस्करी कार्यको लागि क्रीडा स्थल बनेको हुनुपर्छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

यी नाकाबाट अवैध तरिकाले समान ल्याउने व्यापारीले पहिले पहिलो लाइनमा खटिएका सशस्त्र प्रहरी नेपालका प्रहरीसँग कुरा मिलाउने, कुरा मिलेपछि सामान नेपालतर्फ ल्याउने गरेका छन् । यसरी ल्याइएको सामान के छ सो विषयमा जानकारी राख्ने काम सशस्त्र प्रहरीबाट भएको पाइँदैन । यसरी सशस्त्र प्रहरीद्वारा छोडिएको सामान के छ, हेर्ने काम हुँदैन ।

अहिले पनि तस्करी गरी ल्याइएको सामान भन्सारबाट ल्याइएको सामानभन्दा कम मूल्यमा दिने गरेका छन् विराटनगर, दुहबी, इटहरी, धरान, भोजपुर, सङ्खुवासभा लगायत जिल्लामा ।

विराटनगर भन्सारबाट राजस्व नतिरीकन तस्करीद्वारा ल्याइएको सामान काजु, हाडे बदाम, पिस्ता, कोक, बिस्कुट, चिनी, चना, दाल पूर्वमा निकै पाइन्छ ।

कपडाहरू पनि पाइन्छ जोगबनीमा । सामान किनेपछि जोगबनीका व्यापारीले घरसम्मै पुर्‍याइदिन्छन् सो बापत पथ १ लाखको सामान छ भने १५ हजार बढी लिने गरेका छन् । यो सामान सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संरक्षणमा गन्तव्यसम्म पुग्ने गरेको छ ।

काजु, हाडे बदाम, पिस्ता बोकेर ल्याएबापत प्रतिकिलो ५० रुपैयाँ पाउँछन् बोकिदिने व्यक्तिले । यसरी सुरक्षा निकायको मिलेमतो बिना सामान आउँदैन ।

यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको संरक्षणबिना तस्करी गर्नेलाई सहज हुन सक्दैन । पहिलो लाइनमा सशस्त्र प्रहरी रहेका छन् । उनीहरूले राम्रोसँग काम गरेमा तस्करी रोकिने नेपाल प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया