देशको अवस्था कस्तो छ ?

– देशको अवस्था अत्यन्तै दर्दनाक छ । मुलुक अधोगतितर्फ गइरहेको छ । नेपालीहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् । दण्डहीनता बढिरहेको छ । सरकार नै जनतालाई दुःख दिने बाटोमा हिँडिरहेको छ । महँगी, भ्रष्टाचार बढिरहेको छ । जनताको आवाज सुन्नेतर्फ सरकार नलागीकन जनताको आवाज दबाउनेतर्फ सरकार लागिपरेको छ ।

यो हुनुको कारण के हो ?

– देश राजनीतिज्ञले चलाउनुपर्नेमा राजनीतिज्ञले चलाएका छैनन् । कर्मचारीले चलाएका छन् । राजनीति पूर्वाग्रहका साथ सरकार अगाडि बढेको छ । देश गैर राजनीतिकर्मीको हातमा जानु हो ।

राजनीति कस्तो हुनुपर्ने हो ?

– सेवामुखी हुनुपर्ने हो, जनतामुखी हुनुपर्ने हो, आफूलाई जनताको सामुन्ने उभ्याउनुपर्छ । आफूलाई राज्यले प्रदान गर्ने सेवाहरू समयमा नपाउँदा आफूलाई कस्तो हुन्छ सो महसुस गर्नुपर्छ । राजनीतिलाई व्यापारीकरण गर्नुहुँदैन ।

गणतन्त्रवादी र राजतन्त्रवादीको द्वन्द्वलाई कुन रूपमा लिनुभएको छ ?

– यो द्वन्द्व नयाँ होइन । तत्कालीन राजा महेन्द्रले २०१७ साल पौष १ गते दलमाथि प्रतिबन्ध लगाएपछि त्यस बेलाका दलका नेताहरू राजा महेन्द्रको कदमको रिस अहिले पोखेका हुन् । राजसंस्थामाथि त्यही कारण विष वमन गरिरहेका छन् । यो मुलुकको लागि हितकर छैन । आफू निकट दलका व्यक्तिले गरेको गल्तीलाई अभय दान दिने काम अहिलेका दलका नेताले गरिरहेका छन् । यसले गर्दा मुलुकमा २०४६ सालपछि दण्डहीनता मौलाएको छ । त्यही भएर हिजो राजालाई गाली गर्नेहरू राजा आऊँ देश बचाऊँ भनिरहेका छन् ।

दण्डहीनताको निकास के हुन सक्छ ?

– यसको निकास भनेको जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । सो प्रावधान ल्याउनुपर्छ । न्याय, प्रशासन, सुरक्षा निकायमा राजनीतिकरण गरिनुहुँदैन । नेपालमा अभिभावकको रूपमा राजसंस्थालाई राख्नुपर्छ । बोझिलो सङ्घीयता खारेज हुनुपर्छ ।

राजतन्त्र अन्त गरेपछि फेरि राजतन्त्र सम्भव छ ?

– नेपालबाट राजतन्त्र अन्त भएको छैन । विधिवत् रूपमा मृत्युवरण गरेको प्रतिनिधि सभालाई राजा ज्ञानेन्द्रबाट पुनर्जीवित गरेपछि पुनः जीवित भएको प्रेतले पहिले आफूलाई जीवनदान दिनेमाथि नै आक्रमण गरेको हो । मरेकोलाई जीवनदान दिनु नै राजा ज्ञानेन्द्रबाट गल्ती भएको हो । उक्त प्रेतलाई जनताले तह लगाउँछन् । त्यही भएर सो सम्भव छ ।

तपाईको प्रतिक्रिया