काठमाडौं । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो ।

ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र बरिष्ठ साहित्यकार समाजसेवी उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । कवितासङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् ।

यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्नेगरी स्थापना भएको ‘विश्व-ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् । ‘विश्व-ज्योति काव्यसमान’मा सम्मान पत्रसहित नगद रू ५१ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया