विराटनगर । कोसी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षको रूपमा लिए पनि यो वर्ष केहीको लागि पिकनिक र रकम सङ्कलन वर्षको रूपमा सरकारले आत्मसात् गरेको छ ।

पर्यटन वर्षको लागि १० करोड रुपैयाँ विनियोजन गरेपछि उक्त रकमलाई कसरी समाप्त गर्ने भनेर प्रदेश सरकार लागि परेको छ ।

पर्यटन वर्षको उद्‌घाटन सत्रमा कोसी प्रदेश सरकारले आफ्नो खर्चमा सरकार निकटका व्यक्ति सङ्घसंस्थाका प्रतिनिधिलाई लगेर आवत–जावत बसोबासको खर्च समेत व्यहोरेको कारण पर्यटन वर्ष कतै आफू निकटका लागि खुसीयाली वर्षको रूपमा स्थापित गरेको सङ्केत मिलेको छ ।

उद्‌घाटन सत्र बेहुली लिन जन्ती गएभन्दा बढी व्यक्ति लगेर उद्‌घाटन गरेर फर्केपछि उक्त खर्च कसरी मिलान गर्ने त्यसतर्फ आयोजक लागि परेको छ ।

पर्यटन वर्ष पर्यटन भित्र्याउने वर्ष होइन, प्रदेश भित्रका तथा अन्तर्देशीय प्रचार प्रसार र समन्वय निजी क्षेत्र तथा सरकारवालाहरूको सिप र क्षमता विकास गर्ने विद्यमान पर्यटकीय गन्तव्य तथा उपजहरूको प्रवर्द्धन र नयाँ गन्तव्यहरूको खोजी गर्ने मुख्य कार्यक्रम रहेको छ ।

विभिन्न मेला महोत्सव, संस्कृति परम्परा, गीतसङ्गीत, खाना, धार्मिक स्थल लगायतका उपजहरूको प्रवर्द्धन, भारतीय सीमा बजारमा पर्यटन प्रवर्द्धन र प्रचार प्रसार र पर्यटक सुरक्षा, यातायात सहजीकरण र प्रहरी परिचालन रहेका कोसी प्रदेश पर्यटन वर्ष २०८१ को सचिवालयले सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरेको कार्यक्रमहरू ६ वटा छन्, यीमध्ये ५ वटा कार्यक्रमहरू सरकारको इच्छाशक्ति भएमा हुने हो, पर्यटन प्रवर्द्धन गर्न स्थानीय तहबाट काम भइरहेकै छ । विभिन्न जातजाति, धर्म, संस्कृतिको उत्थानको लागि कार्यक्रमहरू गरिरहेका छन् । यसको लागि सरकारले कार्यक्रम बनाउन पर्दैन ।

पर्यटन प्रवर्द्धन गर्न उद्‌घाटन गरेको छ, उक्त ठाउँमा पुग्न बाटोको असुविधा छ, आन्तरिक पर्यटक नै ठगिने गरेका छन् यो कुरा सबैलाई थाहा छ तर थाहा पाए पनि मौन रहेका छन् ।

नेपालमा पर्यटन वर्ष घोषणा गर्नुपर्दैन, कोसी प्रदेश अन्तर्गतको भन्सार नाकाबाट निकै भारतीय सवारी साधन लिएर घुम्न आउँछन् । उनीहरूलाई थाहा छ कहाँ कहाँ हेर्ने लायकको स्थान छ, तर उनीहरूलाई प्रोत्साहन गर्न राज्यले सकेको छैन ।

जोगबनीको बाटो भएर भारतीय सवारी साधन निकै नेपाल प्रवेश गर्दछन् तर उनीहरूलाई सहज रूपमा राज्यले सेवा दिन सकेको छैन ।

भन्सार काट्नुपर्छ दैनिक प्रायः जसो २/३ घण्टा सिस्टम फेल हुने गरेको छ । आउने भारतीय सवारी साधन र उक्त सवारी साधनमा सवार व्यक्ति गन्तव्यमा नपुगी आएकै स्थानतर्फ फर्कने गरेका छन् ।

उनीहरूलाई उचित शौचालयको व्यवस्था छैन, सीमा नाकामा तर हामी पर्यटन वर्ष भनेर कराइरहेका छौँ । यो कराउनुको कारण १० करोड पचाउनु हो ।

पर्यटन वर्ष २०८२ भन्दै जोगबनीदेखि विराटनगर बाहिर जाने सवारी साधनलाई स्टिकर टाँसेर विवरण उल्लेख गरी प्रवेश अनुमति दिने काम भएको छ । स्टिकर टाँस्ने काम चैत २९ गते कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गर्नुभयो । सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा गर्नुभयो ।

उक्त दिन विराटनगर बाहिर जाने १ वटा मात्र सवारी साधनमा स्टिकर टाँस्नुभयो, ३ वटा विराटनगरकै लागि सो बापत यातायात व्यवस्था सेवा कार्यालय कोसी प्रदेश विराटनगरले ५००/- राजस्व बुझेको छ । भन्सार कार्यालय विराटनगरले ६००/-, महानगरपालिकाले २००/- राजस्व बुझेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले हेल्प डेस्क राखी रुट परमिट बापत ५००/- रुपैयाँ राजस्व लिने काम गरेको छ, उक्त राजस्व भन्सार कार्यालयले राजस्व लिएको सवारी साधनको आधारमा लिने गरेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले ३० गते २५ वटा, चैत ३१ गते १० वटा सवारी साधनलाई विराटनगर बाहिर जान अनुमति दिएको छ । सो बापत चैत ३० गते १२५००/-, चैत ३१ गते ५०००/- राजस्व असुल गरेको छ ।

पर्यटन वर्षको उद्‌घाटनदेखि यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले राजस्व लिएर पर्यटन वर्षमा प्रवेश गर्ने गाडीलाई पर्यटन वर्षको महत्त्व बुझाउने काम गरेको छ ।

तपाईको प्रतिक्रिया