विराटनगर । सशस्त्र प्रहरी बल नेपालको टोलीले अवैध तरिकाले अवैध बाटोबाट सामान ओसारपसार गर्ने कार्यलाई केही हदसम्म भए पनि निरुत्साहित पार्ने काम गरिरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. हेक्का टङ्की सिनवारी मोरङको मातहतमा रहेको टोलीले तस्करी गर्नेलाई निरुत्साहित पार्ने काम गरिरहेको भए पनि यदाकदा तस्करी गर्नेले आफ्नो कामलाई निरन्तरता दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. हेक्का टङ्कीसिनवारी मोरङको मातहतमा रहेको युनिटले चैत महिनामा ५३ लाख ९२ हजार ३५५ मूल्य बराबरको सामानहरू बरामद गरी नियमनकारी निकायमा बुझाएको छ ।

जम्मा बुझाएको रकममध्ये सबभन्दा बढी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरले भन्सार कार्यालयमा बुझाएको छ ।

यस कार्यालयले हुन्डीको रकम भारतीय रुपैयाँ १ लाख ७७ हजारसहित ३६ लाख मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको हो ।

यसरी बुझाएको सामानहरूमध्ये कपडा, हार्डवेयर, खाद्यान्न लगायत रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म सीमा सुरक्षा रानी मोरङले आफ्नो युनिटका इन्चार्जलाई फिल्डमा खटाए पनि उहाँहरूको ध्यान जानुपर्ने कुरामा ध्यान जान सकेको छैन ।

विराटनगर रानीमा रहेको चर्चित चाइना मार्केट हुलास चोकसम्मको क्षेत्रलाई तस्करले आफ्नो नियन्त्रणमा लिइरहेका छन् ।

भारतीय नम्बरको स्कुटीबाट दैनिक ४ लाख हाराहारीको सामान तस्करी भएर विराटनगरतर्फ ल्याउने काम भइरहेको छ ।

चाइना मार्केटबाट उक्त स्कुटीमा सामान हालेर बिच बाटोसम्म पुर्‍याउने काम भइरहेको छ । उक्त स्कुटी प्रयोग गरेर दैनिक ५/६ घण्टा ओहोरदोहोर हुने गरेको छ ।

भारतीय नम्बरको उक्त स्कुटीप्रति निगरानी राख्ने हो भने ठुलो परिणामको सामान बरामद गर्न सशस्त्र प्रहरी बल नेपाल सफल हुने देखिन्छ ।

विगतमा प्रोटिनको तस्करी हुने गर्दथ्यो, सशस्त्र प्रहरीको ध्यान जाँदैन थियो । प्रोटिन छोडिने काम गर्ने गरेको पाइएको थियो । समाचार आएपछि सरोकारवाला निकायले ध्यान दिएपछि प्रोटिन बरामद भएको थियो । तसर्थ यसतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया