विराटनगर । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलको यन्त्र प्रयोग गरेबापत निकै व्यापारीलाई कारबाही गरेको छ ।

२०८१ साल श्रावणदेखि फाल्गुणसम्म १८११ व्यापारीहरू कारबाहीमा परेका हुन् ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरमा नापतौल तथा नाप्ने यन्त्र सम्बन्धित इजाजत पत्र नवीकरण गर्ने व्यापारी ४३ रहेका छन् भने अस्थायी इजाजत पत्र लिने व्यापारीको सङ्ख्या ९४२ रहेको कुरा कार्यालय प्रमुख शम्भुकुमार झाले बताउनुभयो ।

सोही अवधिमा नापतौल तथा नाप्ने वा तौलिने यन्त्र जाँच गर्ने व्यापारीको सङ्ख्या १२९१ रहेको छ भने पेट्रोलियम पदार्थ वितरण पम्पको नोजल ४४१ वटाको गरेको बताइन्छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले उक्त अवधिमा ८२ लाख ४७ हजार ८९२ रुपैयाँ राजस्व उठाएको छ ।

उक्त राजस्व कारबाहीमा परेको व्यापारिक संस्थाबाट जरिवाना बापत नवीकरण शुल्क र इजाजत दिँदा लाग्ने राजस्वबाट उठाएको हो ।

कानुनको अभाव, नियम बनाउन व्यापारीलाई सहयोग मिल्ने खालको नीति, नियम बनाएको कारणले गर्दा कार्यालयले कुनै पनि व्यापारिक उद्योग, व्यापारिक व्यक्ति विरुद्ध अभियोग पत्र दायर गर्न कार्यालयले गर्न सकेको छैन ।

कुनै व्यापारिक उद्योगबाट उत्पादित वस्तुको तौल कुनै एउटा सामानमा तोकेभन्दा कम फेला परे पनि अभियोग पत्र दर्ता गर्न कार्यालयले नसक्ने कुरा प्रमुख झाले बताउनुभयो ।

प्राविधिक कारण हामीले अभियोग पत्र दायर गर्न सक्दैनौँ त्यही भएर कार्यालयले अभियोग दायर नगरेको प्रमुख शम्भुकुमार झाले बताउनुभयो । यसलाई हेर्दा सरकारी तहबाट उद्योगीलाई गल्ती गर्न र न्यून गुणस्तरीय सामान बजारमा ल्याउन, कम तौल भएको सामान ल्याउने प्रोत्साहन मिलेको छ ।

तपाईको प्रतिक्रिया