विराटनगर । कोसी प्रदेश सरकारले गर्न लागिरहेको भनिएको कोसी प्रदेश लगानी सम्मेलनको उद्देश्यको बारेमा मुख्यमन्त्री कार्यालयबाट हुनुपर्ने गृहकार्य पर्याप्त हुन सकेको छैन ।
कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गर्वका साथ कोसी प्रदेश लगानी सम्मेलन गर्ने भनेर प्रचार गरे पनि उक्त लगानी सम्मेलन शब्द सङ्घीय सरकारको फोटोकपी रहेको अनुमान विराटनगरवासीले गर्न लागेका हुन् ।
कोसी प्रदेश सरकारले गर्ने भनिएको प्रदेश लगानी सम्मेलनको बारेमा कोसी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका जिम्मेवार व्यक्तिलाई बुझाउन नसकेको कारण अन्य लगानीकर्तालाई बुझाउन सक्दछ भन्ने कुरामा विश्वास गर्न सक्ने आधार देखिएको छैन ।
कोसी प्रदेश लगानी सम्मेलनको बारेमा काठमाडौँमा सरोकारवालासँग छलफल गर्ने काम कोसी प्रदेशका मुख्यमन्त्रीबाट भएको हुँदा कोसी प्रदेशका लगानीकर्ता एवम् व्यापारीप्रति स्वयम् मुख्यमन्त्री विश्वस्त हुन सक्नुभएको छैन ।
कोसी प्रदेश सरकारले त्रिपक्षीय लगानीमा विराटनगर रानीमा आकाशे पुल निर्माण गर्ने भनियो । प्रदेश सरकारको ७५%, विराटनगर महानगरपालिकाको २०% र उद्योग सङ्गठनको ५% भनी प्रचार गरियो तर महानगरपालिका, उद्योग सङ्गठनले दिने भनेको रकम उपलब्ध गराउन नसक्दा आकाशे पुल अलपत्र भएको छ ।
आकाशे पुल निर्माणको बेला सरकारबाट पर्याप्त गृहकार्य नभएको हुँदा महत्त्वाकाङ्क्षी योजनाहरू प्रचारमा मात्र सीमित भएको छ ।
यो एउटा उदाहरण हो । कोसीले कटान गरेको ठाउँमा ठुलो योजनामा रिप्रेक्ट सेन्टर बनाउने काम भयो, यो योजना प्रदेशकै महत्त्वाकाङ्क्षी योजना थियो, पूर्ण हुन सकेन ।
यो उदाहरण हो तर कोसी प्रदेश लगानी सम्मेलनको विषयमा मुख्यमन्त्री कार्यालयकै कर्मचारीलाई विस्तृत रूपमा जानकारी छैन । यसलाई हेर्दा कोसी प्रदेश लगानी सम्मेलन एउटा भेला हुने, खाना खाने, प्रदेश सरकारले तयार पारेको कागजमा समर्थन गर्ने बाहेक अरू केही हुन सक्दैन भन्ने कुराको दाबी आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।
कोसी प्रदेश लगानी सम्मेलनमा सरकारले अगाडी सार्ने योजनाहरू के छ, प्रदेश सरकारले कतिसम्म लगानी गर्न सक्दछ भनेर कोसी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिनेश ढुङ्गानासँग सम्पर्क गर्दा कोसी प्रदेश सरकारले गर्ने भनिएको कोसी प्रदेश लगानी सम्मेलनको तयारी विषयवस्तुको बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।
यस विषयमा उपसचिव अर्जुन निरौलालाई थाहा हुन्छ, ९८५२०६८००४ मा सम्पर्क गरी जानकारी लिन ढुङ्गानाले आग्रह गर्नुभएको थियो ।
उक्त नम्बरमा सम्पर्क गर्दा प्रदेश लगानी सम्मेलनको बारेमा आफूलाई थाहा छैन भनेर हलुका जवाफ दिँदै वास्तविक कुरा बताउन सक्नु भएन ।