विराटनगर । कटहरी गाउँपालिकाद्वारा तुलसी खेतीलाई अगाडि बढाउने योजना बाँदरको हातमा नरिवल सरह बन्ने भएको छ ।
पूर्वाधार विना हचुवाको भरमा तुलसी खेतीलाई कठ्ठाको ३ हजार अनुदान दिने भन्दै कृषकलाई तालिम दिलाए पनि तुलसी खेती गर्नेतर्फ तालिममा सहभागीमध्ये अधिकांशले ध्यान दिएका छैनन् ।
कृषि ज्ञान केन्द्र विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम गरी तुलसी खेतीको बारेमा जानकारी गराउने काम सम्पन्न गरेको दुई महिना पुग्न लाग्दा पनि तुलसीतर्फ कृषकहरू उत्साहित हुन सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र विराटनगरले ५५/५६ जनालाई तालिम दिँदै प्रशिक्षण दिएको कुरा ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो । कृषि ज्ञान केन्द्र विराटनगरको प्राविधिक सहयोगमा कटहरी गाउँपालिकाले तुलसी खेतीको लागि तालिम दिएको र तुलसी खेती गर्न इच्छुक किसानलाई आवेदन दिन सूचना जारी गरिसकेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज शाहले बताउनुभयो ।
तुलसी खेतीको लागि चाहिने बिउ उपलब्ध गराउन कृषि ज्ञान केन्द्रलाई पत्र पठाइ सकेको कुरा शाहले बताउनुहुन्छ । कतिले तुलसी खेती गर्न आवेदन दिएका छन् भनी जिज्ञासा राख्दा आवेदन आउन बाँकी रहेको शाहले बताउनुभयो ।
कटहरी गाउँपालिकाबाट तुलसीको बिउको लागि सहजीकरण गरिदिन कुनै पत्र आएको छैन । मौखिक भनिएका कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो । नेपालमा तुलसीको व्यवसायिक खेती हुँदैन । भारतमा तेलसी खेती हुन्छ कति तुलसीको बिउ चाहिन्छ सो बारेमा कटहरी गाउँपालिकाबाट कुनै पत्र आएको छैन । पत्र आएपछि भारतको उत्तराखण्डबाट तुलसीको बिउ मन्जरी मगाउने सिंहले बताउनुभयो ।