विराटनगर । मानव स्वास्थप्रति जति संवेदनशील हुनुपर्ने हो त्यति संवेदनशील हुन कटहरी गाउँपालिकाले सकिरहेको छैन ।

गाउँपालिका पनि एउटा स्थानीय सरकार हो । प्रत्येक गाउँपालिका एक अस्पताल हुनुपर्ने गरी केन्द्रीय सरकारले निर्णय गरे पनि सो को कार्यान्वयन गर्न कटहरी गाउँपालिकाले सकिरहेको छैन ।

कटहरी गाउँपालिकाले १५ वेडको अस्पताल निर्माण गर्नुपर्नेमा ३ वर्ष हुन लाग्दा पनि यसतर्फ कुनै कदम नचालेको हुँदा कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरीलगायत टिम मानव स्वास्थप्रति उदासिन रहेको सङ्केत मिलेको छ ।

कटहरी गाउँपालिकाले १५ वेडको अस्पताल निर्माणको लागि जग्गाको व्यवस्था गरेमा सरकारले अस्पताल बनाई दिने भए पनि अहिलेसम्म जग्गाको व्यवस्था हुन नसकेको हुँदा अस्पताल निर्माण हुन नसकेको कुरा कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज शाहले बताउनुभयो ।

कटहरी गाउँपालिकाको मातहतमा रहेको स्वास्थ्य चौकीमा दक्ष जनशक्तिको अभावमा उक्त स्वास्थ्य चौकीले बिरामीलाई सेवा दिन सकेको छैन ।

उक्त स्वास्थ्य चौकीले २४ घण्टा प्रसूति सेवा प्रदा गर्ने भनी प्रचार गरे पनि पूर्ण रूपमा सेवा दिन सकेको छैन ।

प्रसूति गराउन आउने गर्भवती महिलालाई नर्मल प्रसूति गराइने, शल्यक्रिया वा बच्चालाई चिम्टाले निकाल्नुपर्ने अवस्था आएमा अन्यत्र एम्बुलेन्समार्फत पुर्‍याइने कुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।

गर्भवती महिला प्रसूति गराउन आउँदा सबै गर्भवती महिलाको पाठेघरको मुख सबै खुला हुन सक्दैन । कतिलाई शल्यक्रिया गर्नुपर्छ तर उक्त स्वास्थ्य चौकीमा शल्यक्रियाको व्यवस्था नरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कटहरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट, अ.हे.व., सिनियर अ.हे.व., अनमी रहेका छन् । उनीहरूले सेवा दिइरहेका छन् तर यसमा जवाफदेहीता भन्ने कुरा नै हराएको तर्क स्वास्थ्यकर्मीले गरेका छन् ।

कटहरी गाउँपालिकाले दादुरा, रुवेला खोप कार्यक्रमलाई निरन्तरता दिएको छ । दादुरा, रुवेला खोप लगाउन चाहिने जनशक्तिको अभावले गर्दा विद्यालयका शिक्षिकासँग सहयोग लिने गरेको कटहरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुकलप्रसाद शाहले बताउनुभयो ।

दादुरा-रुवेला खोप लगाएपछि हुन सक्ने सम्भावित समस्या आएमा त्यसको थप उपचार गर्ने जनशक्तिको अभाव रहेको शाहले बताउनुभयो ।

दादुरा-रुवेला खोप लगाएपछि कुनै समस्या देखिएमा कोशी अस्पतालमा पुर्‍याउने शाहले बताउनुभयो ।

यसलाई हेर्दा कटहरी गाउँपालिका आफ्नो क्षेत्रको जनताको स्वास्थप्रति संवेदनशीलता हुन नसकेको कुरा प्रस्ट हुन आएको छ ।

तपाईको प्रतिक्रिया