विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गतेदेखि २ महिनासम्म काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

अवस्था र व्यवस्था दुवै बदल्नको लागि आन्दोलन अति आवश्यक रहेको कुरालाई ध्यानमा राख्दै राप्रपा मोरङले १ दिन अनुशिक्षण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ जिलामा रहेका पार्टीका केन्द्रीय सदस्यहरू राप्रपा मोरङका पदाधिकारी, क्षेत्रीय समितिका पदाधिकारी, नगर पदाधिकारी, नगरपालिका, गाउँपालिकाका पार्टीको नेतृत्व वर्गलाई केन्द्रीय समितिले खटाएको केन्द्रीय प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहनुभएका केन्द्रीय प्रशिक्षक होम गौतमले राप्रपाले आन्दोलन किन गर्ने ? केका लागि गर्ने ? भन्ने विषयमा केन्द्रित रही राजसंस्था स्थापना र हिन्दु राज्य स्थापनासहित पार्टील बुझाएको ४० बुँदे ज्ञापनपत्रमा उल्लेख गरिएको कुरालाई आन्दोलनबाट पूरा गर्न सकिने कुरा बताउनुभयो ।

उक्त अवसरमा अर्का प्रशिक्षक केदार कोइरालाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै अवस्था र व्यवस्था बदल्न आन्दोलन आवश्यक रहेको कुरा माथि चर्चा गर्दै आन्दोलन बिना अवस्था र व्यवस्था परिवर्तन हुँदैन, अवस्था र व्यवस्था परिवर्तन नभइकन राजसंस्था पुनः स्थापना गर्न सम्भव नभएको कुरा कोइरालाले बताउनुभयो ।

उक्त अवसरमा राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले चैत १ गतेदेखि विराटनगरको महेन्द्र चोक, रोडशेष चोक, मिलन चोक, देवकोटा चोक, गुद्री चोकमा कोणसभा गर्ने निर्णय राप्रपा मोरङले गरेको बताउनुभयो । विराटनगर महानगरपालिकामा कोणसभा गरी आन्दोलनलाई अगाडि बढाउन राप्रपा केन्द्रीय सह प्रवक्ता दिनेश साह, संयोजक राप्रपा केन्द्रीय सदस्य विश्व मोहन थापा, राप्रपा मोरङ सल्लाहकार डा. दुर्गा अधिकारी, राप्रपा मोरङ उपाध्यक्ष राजेश मास्के, रतन तामाङलाई सदस्य राखी आन्दोलन परिचालन समिति गठन गरेको कटुवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया