विराटनगर । विराटनगर भन्सार कार्यालयबाट दिनुपर्ने सेवा दिन नसक्दा राजस्व चुहावटमा निकै वृद्धि हुँदै गएको छ ।
व्यापारिक प्रयोजन एवम् घरायसी प्रयोजनको लागि जोगवनी बजारबाट सामान किनेर कोशी प्रदेशको अधिकांश जिल्लामा सामानहरू उक्त बाटोबाट जाने क्रम जारी रहेको छ । उक्त स्थानबाट सामान किनेर ल्याउनेहरूबाट राजस्व उठाउने तर्फ भन्सार प्रशासनले ध्यान दिएको छैन ।
जोगवनीबाट सामान किनेर कोशी प्रदेशको अधिकांश जिल्लाको व्यापारीसम्म पुर्याएर र आफ्नो जीवन यापन गर्नेहरूले राजस्व तिरेर लान्छु भन्दा पनि लान पाइरहेका छैनन् ।
जोगवनी बजारबाट कपडा, खाद्यान्नहरू, चकलेट, चिनी, केराउ, काजु, चुइगम, बिस्कुट, डेरी मिल्क, जुस र अन्य सामानमध्ये चप्पल, जुत्ता, रजनगन्धा आदि किनेर विराटनगरतर्फ ल्याउने क्रम रोकिएको छैन ।
राजस्व चुहावट नियन्त्रण समितिले बजार अनगमन गरेमा राजस्व चुहावट कसरी भइरहेको छ यो सहजै अनुमान लगाउन गाह्रो हुँदैन ।
व्यापारी प्रयोजनको लागि जोगवनीबाट सामान बोकेर भन्सार एरियाबाट कटाउने काममा १६ वर्ष मुनिका बालबालिकाको प्रयोग हुने गरेकोमा सशस्त्र प्रहरी भन्सार गुल्म रानीबाट खटिएको टोलीले यसलाई नियन्त्रण गर्ने काम गरिरहेको छ र १६ वर्ष मुनिका बालबालिका प्रायः देखिदैनन् । यसलाई हेर्दा ५०% सामान ओसारपसार गर्ने समूह घटेका छन् यसलाई सकारात्मक रूपमा लिनुपर्छ विराटनगर भन्सार कार्यालयले पुरानो भन्सार कार्यालयको यात्रु शाखामा ना.सु. हरूलाई खटाए पनि उहाँहरूको अनुपस्थिति हुने गरेको कारण सेवाग्राहीले भने अनुसार सेवा पाउन सकेका छैनन् ।
त्यहाँ कम्प्युटर अपरेटरबाट दिनुपर्ने सेवा दिए पनि अन्य कर्मचारीको अभावमा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
भन्सार दरबन्दी र सोबाट कति राजस्व उठ्छ भन्ने विषय विराटनगर भन्सार प्रशासन अनिविज्ञ छैन तर त्यहाँ सहजीकरण नहुँदा राजस्व गुमिरहेको छ, विराटनगर भन्सार कार्यलय आइसीपीबाट साना व्यापारीले सामान जाँचै पास गराएर राजस्व तिर्न सहज छैन ।
यो कुरा भन्सार प्रशासनलाई पनि थाहा नभएको होइन जोगवनी बजारबाट व्यापारी प्रयोजनको लागि सामान ल्याउनेसँग राजस्व उठाउन सक्ने वातावरण भन्सार प्रशासनले गर्न सकेको छैन ।
जोगवनी बजारबाट विवाह उत्सव, पूजा आदिको लागि लाखौँ रुपैयाको सामान किनिरहेका छन् । विराटनगर भन्सार कार्यालय रानी यात्रु शाखाले सामानको राजस्व नलिदैमा उक्त सामान गन्तव्यसम्म पुग्दैन भन्न सकिदैन – यसतर्फ ध्यान दिनु जरुरी छ । जोगवनीका व्यापारीले घरैमा सामान पुर्याउने गरी जिम्मा पनि लिने गरेका छन् । उनीहरूले सामान्यको प्रकृति हेरी १० हजारदेखि १५ हजारसम्म थप रकम लिने गरेको बताइन्छ । विराटनगर भन्सार कार्यालयले जोगवनीबाट सामान ल्याउनेलाई कतिको सामान ल्याउनुभयो भनेर सोधेर अब नेपाल सरकारलाई कति राजस्व तिर्नुहुन्छ भनेर सहजिकरण गरी सो अनुसार गर्ने हो भने दैनिक ३ लाख हाराहारी राजस्व उठ्न सक्छ यसतर्फ भन्सार प्रशासनको ध्यान जानु जरुरी छ ।