विराटनगर । नेपालको पत्रकारितालाई संविधानले चौथो अङ्गको रूपमा सूचिकृत गरेको छ ।

यसलाई नेपाली आम सञ्चार माध्यम र सञ्चारकर्मीले ठुलो उपलब्धिको रूपमा व्याख्या गर्ने गरेका छन् ।

नेपालको राजनीतिक दलका नेताले घुमाउरो पारामा पत्रकारिता जगत् पनि देशमा भइरहेको विकृति, विसङ्गतिको एक हिस्साको रूपमा स्थापित गरेका छन् । नेपालको आम सञ्चार माध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेका छैनन् । खालि पत्रकारिताको आडमा दलकारिता गरिरहेका छन् र दलका नेताले गरेको हरेक कामको हिस्सेदारी बनेका हुन् ।

पत्रकारले आफ्नो धर्म निर्वाह गरेका छैनन् । पत्रकारलाई दलकै नेताले विभिन्न उपनाम दिने गरेका छन् तर हामी मौन छौ किन ?

सायद पत्रकारिता नजानेर वा बढी जानेर हो । यो आफूलाई अब्बल पत्रकार ठान्ने र व्याख्या गर्नेलाई बढी थाहा होला ।

पत्रकार तीन प्रकारका छन् यो कुरा कोी प्रेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले नेपाल पत्रकार महासङ्घ कोसी प्रदेशको अधिवेशनमा बताउनुभयो । पहिले मसीले लेख्ने पत्रकार, दोस्रो तेल दलेर लेख्ने पत्रकार, तेस्रो आगोले लेख्ने पत्रकार भनेर व्याख्या गर्नुभयो । अब पत्रकारले म म भन्दै कुन तहमा छु भनेर विश्लेषण गरेको, टिप्पणी गरेको पाइएन ।

तीन तहको पत्रकारको परिभाषा कार्कीले कुनै दिन गर्नुहोला तर हामीले बुझ्दा मसीले लेख्ने भनेको नेताले जे भने त्यही लेख्ने, तेल पत्रकार भनेको नेताले नबोलेको कुरालाई बनाएर लेख्ने, नेताको चाकडी गर्ने, नेताले गाईलाई गधा भनेमा गधा भनेर लेख्ने पत्रकार । अर्को आगोले लेख्ने भनेको दलका नेताले गरेको गल्तीलाई औँल्याउने पत्रकार हुनुपर्छ भन्ने बुझाई हाम्रो हो र यही बुझाई आम जनताको होला । केदार कार्की नेपाली काँग्रेसको नेता हुनुहुन्छ । उहाँले भनेको कुरालाई हामीले पत्याएका छौँ । आफूलाई सक्रिय भन्ने पत्रकारले पनि यसलाई स्वीकार गरेका छन् । यसलाई हेर्दा कार्कीको भनाइमा सत्यता छ भन्ने देखिन्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह के.सी.ले हामी नेताहरूले एकपछि अर्को झुट बोल्ने काम गरेका छौ यो काम पत्रकारकै कारण भएको हो भन्नुभएको छ ।

पत्रकार दल विशेष बनेका छन् । आफ्नो दलको नेताले गलत बोलेमा गलत भन्ने काम पत्रकारबाट भएको छैन हुनुपर्ने हो त्यही कारण हामी नेताले एकपछि अर्को झुट बोल्ने गर्दछौ । पत्रकारले आफ्नो धर्म निर्वाह गरेको भए नेताले झुट माथि झुट बोल्ने थिएनन् भन्ने आशय के.सी.को थियो र आम जनताको पनि भनाई यही हो ।

पछिल्लो समय कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की हुनुभयो । केदार कार्की जुन धाराबाट मुख्यमन्त्री बन्नुभएको थियो त्यही धारा हिकमत कार्कीमा लागू भयो । जुन कहीँ नभएको जात्रा हाडिगाउँमा भए जस्तो भयो ।

अन्तिम विकल्पको रूपमा केदार कार्की मुख्यमन्त्री बन्नुभयो, फेरि त्यही धारा प्रयोग हुँदैन यो कुरा तेल पत्रकारलाई पच्दैन होला । प्रदेश प्रमुखले हिकमत कार्कीलाई केदार कार्कीकै तहमा राखेर मुख्यमन्त्री घोषणा गर्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको धारा किन प्रयोग भएन यसको जवाफ कसले दिने ।

तपाईको प्रतिक्रिया