विराटनगर । ताल न बेतालको तरिकाले विभिन्न काम गरेको देखाई न्यून गुणस्तरीय काम गरेर बजेट सक्ने परम्पराको अहिलेसम्म अन्त हुन सकेको छैन ।

सङ्घीय सरकार एवम् प्रदेश सरकारले आ-आफ्नो तरिकाले विभिन्न सामाजिक सङ्घसंस्था, गैर सरकारी एवम् सरकारी सङ्घसंस्था, एनजिओ, आइएनजिओको केही रकम उपलब्ध गराएर नीतिगत भ्रष्टाचारमा सहभागी गराई उनीहरूको आवाजलाई समेत खरिद गर्ने काम गर्दै आइरहेको छ ।

महालेखा परीक्षकले बेरुजु निकालिरहेको छ जो बाट बेरुजु निकालेको छ उनीहरूबाट बेरुजु फर्छ्यौट गराउनेतर्फ रकम निकासा गरिदिने निकायले कुनै कदम चालेको पाइँदैन ।

तिनीहरूलाई नै वा तिनीहरूले सञ्चालन गरेको अन्य संस्थालाई विभिन्न नाममा रकम निकासा गर्ने र उनीहरूलाई स्खलित पार्ने काम भइरहेकै छ । सङ्घसंस्था गठन गर्दा उनीहरूल आफूले कम गर्न सक्छु भनेर गरेका छन् तर सरकारबाट रकम लिने र केही काम गरेको देखाई अन्य रकम हिसाब मिलान गर्ने गरेको कुराले चर्चा पाएको छ ।

कुनै पनि संस्थाले होटेलमा ३ दिनको कार्यक्रम गर्ने गरी योजना पेस गर्ने, ब्यानरमा ३ दिन लेखाउने, कागजमा ३ दिनकैमा सही गराउने तर एक दिन मै काम सक्ने सम्मको काम नभएको पनि होइन ।

जुन निकायले रकम उपलब्ध गराउँछन् सो निकायका केही व्यक्तिहरू राजनीतिक दबाबमा परेको कारण यसतर्फ मौन बस्ने गरेका छन् ।

कुनै निकायले विगतमा कार्यक्रम विराटनगरकै कुनै कार्यालयको कोठामा गरेका थिए । कागज काठमाडौँमा गरेको देखाई ठुलै आर्थिक अनियमितता समेत गरेको थियो । यसलाई हेर्दा काम गरेको कागजमा देखाउने बाहेक केही हुने देखिँदैन ।

अहिले बर्सादको समयमा विकास निर्माणको काम भइरहेको छ । नाला बनाउने, पुल बनाउने, सडक पिच गर्ने काम भइरहेको छ ।

वर्षामा काम हिलोमा सोलिङ, दुई नम्बरको इँटाको जोडाई, हिलोमा पिच समेत हुने गरेको छ । बर्सादमै र काम गर्ने समयभन्दा अगाडि र पछाडि गरेको कारण विराटनगर घिनाहा घाटको पुलको बिम न्यून गुणस्तरको भएपछि पूर्वाधार विकास कार्यालय कोसी प्रदेश विराटनगरले भत्काउन लगाएको थियो ।

विराटनगर-३ मा निर्माण गरिएको नालाको काम अहिले बर्सादमा भइरहेको छ । विराटनगर-३ पोखरियादेखि पश्चिमको नालाको प्रकृति हेर्दा वर्षामा काम गरेर बजेट सक्ने हतार बाहेक केही देखिँदैन । उक्त स्थानमा नाला बनाउन माटो खनेको, हिलोमा सोलिङ गरी हिलोमाथि सामान्य RCC गरेर नाला बनाउने काम भइरहेको छ । १ नम्बर इँटाको प्रयोग गर्नुपर्नेमा दुई नम्बर इँटा मिट्ठापाकको प्रयोग समेत भइरहेको छ ।

बेला बखत स्थानीय बासिन्दाले खबरदारी गरेपछि मापदण्ड विपरीत इँटा उठाउने काम भए पनि मापदण्ड विपरीतको इँटा गिराएर जोडाई गर्ने काम भइरहेको छ ।

विराटनगर महानगरपालिकाले आफ्नो प्राविधिक खटाएर पनि मापदण्ड विपरीतको कामलाई पूर्ण रूपमा रोक्न सकेको छैन । विराटनगर महानगरपालिकाका कार्यकारिणी अधिकृतै अगाडिको बाटो नाला निर्माणमा मापदण्ड विपरीत काम भइरहेको छ भने अन्य ठाउँमा नहोला भन्न सकिने अवस्था छैन । यो नाला २०८०/६/२३ मा सम्झौता भई २०८२/७/३० मा योजना अनुसार काम सम्पन्न गर्नुपर्ने छ ।

पश्चिमको नालाको पानी पूर्व पोखरिया स्कुल अगाडिको पैनीमा खसाउने गरी काम गरिएको छ । विराटनगर महानगरपालिकाका इन्जिनियरले पानी निकासा हुन्छ भनेका छन् । पानी निकासा हुने कुरामा दुई मत छैन । घोघाको पानी भरिएपछि ओरालो जमिनतिर पानी निकास हुने कुरा कसैले अस्वीकार गर्न सक्दैन । यो काम दक्षिणको पानी उत्तरतिर निकासा गर्छु भन्नु सरह हो ।

विकास निर्माण काम प्रायः फागुन, चैत, वैशाखमा गरिनुपर्ने हो । पिच बनाइएको छ भने घामले छिट्टै जोड्छ तर यहाँ हरेक काम जाडो र वर्षामा हुन्छ । यसले गर्दा काम गुणस्तरीय हुन नसकेको तर्क केही प्राविधिकको रहेको छ ।

विराटनगर-३ को यो एउटा नमुना मात्र हो । यही प्रकारको काम अन्य ठाउँमा नहोला भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया