विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्का कंकालिनी गण टंकीसिनवारी मोरङको मातहतमा रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटले चोरी पैठारी गर्ने कार्यलाई निरुत्साहित पार्दै आएको छ । खुला सिमानाको कारण हुने अवैध ओसार कार्यलाई निरुत्साहित पार्न सशस्त्र प्रहरीको टोली सक्रिय भए पनि राजनीतिक एवम् केही पत्रकारको दबाबका कारणले सोचे जति काम गर्न सकेको छैन । अहिले पनि विराटनगर भन्सार कार्यालय क्षेत्र २ नम्बर गेट चाइना मार्केट, हुलासचोकमा केही राजनीतिकर्मी र सञ्चारकर्मीले तस्करी गर्नेलाई प्रोत्साहन दिँदै सहजीकरण गर्दै आएका छन् ।
उनीहरूले भनेको व्यापारीको सामान समाऊ भने आफ्नै विरुद्ध समाचार लेख्लान् भन्ने डरले सशस्त्र प्रहरीहरू आतङ्कित नै बनेका छन् । सशस्त्र प्रहरी टङ्कीको घुमुवाल केही ञ्चारकर्मीबाट संरक्षण प्राप्त तस्करीका सामान समाएबापत निजको सुरुवा भएको थियो । यसलाई समेत नियमनकारी निकायले ध्यान दिनु जरुरी छ ।
असोज महिनाको ८ गतेसम्म सशस्त्र प्रहरी नेपालको युनिटले २१ लाख १५ हजार बराबरको चोरी पैठारी गरी ल्याइएको सामान नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टङ्कीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक विश्वबन्धु खड्काले बताउनुभयो ।
यसरी भन्सार कार्यालय रानीमा बुझाएको सामानमध्ये ११ लाख मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगरले बुझाएको छ भने बाँकी १० लाख १५ हजार मूल्य बराबरको सामान अन्य सशस्त्र प्रहरी बल नेपाल मोरङको युनिटले बुझाएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
अहिले पनि व्यापारिक प्रयोजनका सामान विराटनगरतर्फ भित्रिरहेको अनलाइन मार्फत सामान मगाउनेको सङ्ख्यामा वृद्धि भएको छ । अनलाइन मार्फत सामान ल्याउने व्यक्तितर्फ पनि निगरानी राख्नु जरुरी छ ।
भदौ महिनामा मात्र जोगबनी बजारबाट सामान किनेर ल्याउनेको सङ्ख्या ३२८ रहेको छ । उनीहरूले ल्याएको सामानबाट ४ लाख २ हजार ८०३ रुपैयाँ राजस्व असुल भएको छ । उक्त राजस्व कपडा, तरकारीलगायत अन्य सामानहरूबाट असुल भएको हो ।
जोगबनीमा गई व्यापारिक प्रयोजनको लागि सामान ल्याउने वास्तविक व्यापारीको सङ्ख्या २०० भन्दा बढी छ । घरायसी सामान ल्याउनेको सङ्ख्या दैनिक २ हजारभन्दा बढी रहेको छ । व्यापारीको सामान जोगबनीबाट ल्याएर २ नम्बर गेट कटाउनेको सङ्ख्या निकै छ । यसतर्फ पनि नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।
अहिले जोगबनीबाट व्यापारिक प्रयोजनको लागि काजु, पिस्ता, बदाम, मरीच, ल्वाङ, केराउ, चिनी निर्बाध रूपमा आइरहेको छ । कार्यक्षेत्रमा कार्यरत सुरक्षाकर्मीले यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।
उक्त सामान ल्याउने एवम् बोक्नेले घरायसी सामान भन्ने गरेका छन् । उक्त सामान ल्याउनेले एक पटकमा १५ देखि २० किलोको ल्याउँछन् । उक्त परिणामको सामान घरायसी हुन सक्छ वा सक्दैन यसतर्फ पनि नियमनकारी निकायको ध्यान जानुपर्छ ।