विराटनगर । खुला सिमानाको कारण एवम् सुरक्षाकर्मीको पर्याप्त उपस्थिति नहुँदा अवैध तरिकाले सामान-ओसार पसार गर्ने समूह वा व्यक्तिको सक्रियता बढ्दै गएको छ ।

अहिले जोगबनीबाट सामानलाई यात्रु शाखामा गई राजस्व तिर्नेको सङ्ख्या न्यून रहेको छ ।

जोगबनी प्रवेश गर्ने मुख्य नाकाबाट सामान ल्याउन भारतीय सुरक्षाकर्मीले नदिएपछि दशगजामा रहेको दुर्गा मन्दिरको उत्तरपट्टिबाट नेपालतर्फ सामान फ्याँकेर सुरक्षित पार्ने अनि अनुकूल हेरेर उक्त सामानलाई गन्तव्यतर्फ पुर्‍याउने काम भइरहेको छ । सीमा प्रहरी चौकी रानीदेखि उत्तरतर्फ बनाइएको पसलमध्ये अधिकांश पसलको दशगजा पछाडि भारततर्फको भवनको प्वालको केही भागलाई खुला राख्ने र सोही स्थानबाट सामान निकालेर अटो, टेम्पु र मारुती गाडमा हालेर गन्तव्यतर्फ पुर्‍याउन काम भइरहेको छ । उक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मीले समय समयमा सामानहरू नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालयमा बुझाउने गरेका छन् तर पनि तस्करी रोकिन सकेको छैन ।

सशस्त्र प्रहरी बल नेपाल विराटनगर रानी गणले असोज महिनाको ८ गतेसम्म ११ लाख १५ हजार मूल्य बराबरको सामान बुझाएको थियो भने ८ गतेदेखि १५ सम्म थप १० लाख मूल्य बराबरको सामान पक्राउ गरी भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।

यसरी बुझाएको सामानमध्ये कपडा, खाद्य सामग्री लगायत छन् । यहाँ यति हुँदाहुँदै पनि तस्करी कार्य रोकिएको छैन । दसैँ तिहार नजिक आइरहेको हुँदा जोगबनीबाट काजु, पिस्ता, हाडे बदाम, मरीच, छगडाको तस्करी गरी विराटनगरतर्फ आइरहेको छ ।

यसरी उक्त सामानलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवरोध नगरोस् भनेर केही सञ्चारकर्मीले सहजीकरण गर्ने गरेका छन् ।

केही सञ्चारकर्मीले २/४ जना सामान ल्याउनेसँग मिलेर आफ्नो मानिसले सामान ल्याउँदा कार्यक्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई यो मेरो सामान हो भनेर दबाब दिने अरूले ल्याएमा पत्रकारिताको भूमिकामा आफूलाई प्रस्तुत गर्ने गरेका छन् ।

अहिले जोगबनीमा सर्वसाधारणले १ के.जी. काजुको १४००।–, १ केजी पिस्ताको १७८०/-, १ के.जी. हाडेबदामको ११३०/-, १ के.जी. मरीचको १२८०/- रुपैयाँमा पाइन्छ ।

विराटनगरका केही ठुला एवम् साना व्यापारीले उक्त सामान थोकमा किन्दा सामानअनुसार २०० देखि ३०० सम्म कम पर्छ प्रति किलोमा ।

जोगबनीबाट उक्त सामान केरिङ गरेर ल्याइदिएमा सामानअनुसार रकम दिने गरेका छन् सामान ल्याई दिनेलाई यसतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ ।

अहिले काजु, पिस्ता, हाडेबदाम, मरीच बिहान ६ देखि १० बजेसम्म ठुलो परिणाममा भित्रिने गरेको छ । उक्त सामानलाई देखे पनि नदेखेजस्तो गर्ने काम भइरहेको छ । १० देखि ७ बजेसम्म बिहानको तुलनामा भन्दा २५ प्रतिशत मात्र सामानहरू भित्रिने गरेको छ ।

केही सञ्चारकर्मीले आफू निकटका लाई सहयोग गर्ने र अरूलाई सामान ल्याउन अवरोध पुर्‍यापछि केही साना व्यापारीहरू गालीगलौजमा उत्रिँदै आफूले तस्करी गर्न हुने भन्दै आरोप लगाउन थालेका छन् ।

विराटनगर भन्सार कार्यालयबाट यात्रु शाखामार्फत राजस्व अरूले गर्ने व्यवस्था नगरेको हुँदा अवैध रूपमा सामान ओसार गर्ने कार्यले निरन्तरता पाएको हो ।

विराटनगर बजारमा अनुगमन गरेमा उक्त सामानहरू कति मुख्य भन्सारबाट आएको छ थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया