विराटनगर । नेपालमा सङ्घीयता आएपछि नेपालमा रहेका दलका नेताहरूले झुटको विकास गर्ने कामलाई निरन्तरता दिएका छन् ।
उनीहरूले झुटलाई निरन्तरता दिनुमा कहीँ न कहीँ हामी पनि दोषी रहेका छौँ । हामीलाई चौथो अङ्ग भनेर भनिए पनि सञ्चार जगत् कुनै न कुनै दलको अङ्गको रूपमा स्थापित भएको कारणले झुटको विकास भएको हो ।
केही महिना अगाडी नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह के.सी. सञ्चारकर्मी दल विशेष भएको हुँदा आफ्नो दलका नेताले गलत बोलेमा मौन समर्थन गर्ने गरेको कारण नेतालाई झुट बोलिरहन प्रेरणा मिलेको बताउनुभएको थियो ।
कोसी प्रदेशका मन्त्रीहरूले झुटलाई निरन्तरता दिँदै आउनुभएको छ । प्रदेश सरकारको आम्दानीको स्रोत नभए पनि ठुला ठुला सपना बाँड्ने काम भइरहेको छ ।
नेताले बाँडेको सपनालाई हामीले वास्तविकतामा बुझिदिँदा र त्यसको विषयमा टीकाटिप्पणी नगर्दा झुटको विकास भएको हो ।
कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले हेलिकप्टर किन्ने घोषणा गर्नुभयो । हेलिकप्टर कोसी प्रदेश सरकारले किनेको छ छैन यो खोजीको विषय बनेको छ । यसरी वर्तमान कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले कोसी प्रदेश सरकारले हवाईजहाज किन्ने भनेर बोल्नुभएको छ । कहिले हवाईजहाज आउँछ सो कुर्न निकै पर्खनुपर्छ ।
हालै कोसी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले कोसी प्रदेशभित्र विभिन्न नदी तथा खोलाहरूमा रहेको झोलुङ्गे पुलहरू नजिक पक्की पुल निर्माण भई प्रयोग विहीन तथा जीर्ण भएको झोलुङ्गे पुलहरू स्थानान्तरण गरी आवश्यक स्थानमा निर्माण गर्ने गरी २०८१ कार्तिक ८ गते निर्णय भएको बताउनुभयो ।
यसलाई हेर्दा कोसी प्रदेश सरकारले विगतमा निर्माण भएको तर प्रयोग विहीन रहेको झोलुङ्गे पुल र पक्की पुल अन्त सार्ने प्रविधिको समेत विकास गरेको देखिन्छ तर अनावश्यक ठाउँमा झोलुङ्गे पुल र पक्की पुल निर्माण गर्न निर्देशन दिनेलाई कहाँ स्थानान्तरण गर्ने यो विषय पेचिलो बन्दै गएको छ ।
कोसी प्रदेशभित्र रहेका सडकहरूमध्ये कुन कुन कोसी प्रदेश सरकारको मातहतमा छ त्यसको पहिचान गर्ने गरी काम गर्ने भएको छ । एउटै बाटोमा सङ्घीय सरकार र स्थानीय सरकारले सडक बनाउँदा खर्च गर्ने गरेको हुँदा कोसी प्रदेश सरकारले कहाँ खर्च गर्ने सोको अनुसन्धान गरी काम गर्ने कुरा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले बताउनु भएको छ ।
उहाँले मन्त्रालय सम्हाले देखिको १०० दिनमा गरेको कामको जानकारी गराउने गरी आयोजना गरेको पत्रकार सम्मेलनमा निर्णय मात्र गरिएको छ । यसलाई हेर्दा राईले कामलाई भन्दा बढी निर्णयलाई बढी प्राथमिकतामा राख्नुभएको छ ।