नेपाल निजामती कर्मचारी युनियनले अहिले के गरिरहेको छ ?

– नेपाल निजामती कर्मचारी युनियनले वर्तमान सरकारको गतिविधिलाई नजिकबाट हेरिरहेको छ । अहिले हामी युनियनलाई बलियो बनाउनेतर्फ लागिरहेका छौँ ।

सदस्यता वितरण, जिल्ला तहको अधिवेशन नेतृत्व चयन, केन्द्रीय महाधिवेशनतर्फ लागिरहेका छौँ । महाधिवेशनमा सरकारको कार्यशैलीको विषयमा स्पष्ट धारणा बनाउँदै अगाडि बढ्नेतर्फ केन्द्रित छौँ ।

महाधिवेशन कहिले हुने छ ?

– नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अधिवेशन भइरहेको छ । मोरङको यही पौष २६ र २७ गते जिल्ला अधिवेशन हुँदै छ भन् २०८२ वैशाख ४, ५, ६ गते केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्ने तयारीमा सङ्गठन लागेको छ ।

सङ्गठनहरू दलगत रूपमा धेरै छन् यसले कर्मचारीमा अन्यौलता निम्त्याउँदैन ?

– सङ्गठन धेरै हुँदैमा अन्यौलता निम्त्याउँदैन । जति सङ्गठन धेरै भयो त्यति नै कर्मचारीहरूले आफ्नो मागहरू सरकारसँग राख्न सक्छ र कर्मचारीको मागलाई सम्बोधन गर्न सरकारलाई नैतिक दबाब पर्दछ ।

पछिल्लो समय सङ्घीय निजामती ऐन जारी गर्दा राष्ट्रिय स्तरको ट्रेड युनियन राख्नुहुँदैन भन्ने आवाज केही सङ्घीय सांसदले उठाइरहेका छन् यसमा तपाईँको भनाइ के छ ?

– जसले राष्ट्रिय ट्रेड युनियन राख्नु हुँदैन भनिरहनु भएको छ उहाँहरूले ट्रेड युनियनको बारेमा जानकारी नभएर भन्नुभएको हो । राष्ट्रिय स्तरमा ट्रेड युनियन आवश्यक छ । खारेज गर्नुहुँदैन । केही यदि ट्रेड युनियनहरू अव्यवस्थित छन् भने तिनलाई व्यवस्थित गर्नुपर्छ । ट्रेड युनियन भित्र समस्या छ भने बसेर हल गर्नुपर्छ खारेज गर्नुहुँदैन ।

खारेज गर्नु नहुने कारण के होला ?

– लोकतन्त्रमा ट्रेड युनियन आवश्यक छ । ट्रेड युनियनले कर्मचारीलाई सङ्गठित गर्दछ । कर्मचारीको हकहितमा आवाज उठाउँछ र सरकारलाई नैतिक दबाब पनि दिन्छ ।

दलगत रूपमा ट्रेड युनियन धेरै खुलेका छन् यसमा यहाँको भनाइ के छ ?

– ट्रेड युनियन दलगत रूपमा छैन न राष्ट्रिय स्तरका छन् कुनै दलमा आस्था राख्न सक्छन् तर ट्रेड युनियनले दलको पक्षमा वकालत गरेको पाइँदैन र गर्दैन कर्मचारीको पक्षमा वकालत गर्ने हुँदा दलगत रूपमा छन् भनेर मान्न सिकिदैन ।

धेरै ट्रेड युनियनले आफ्नो सङ्गठनका कर्मचारीलाई सरुवा, बढुवा गर्न सरकारलाई दबाब दिने गरेका छन् भनिन्छ नि ?

– अरूले के गर्दछन् सो आफूलाई थाहा छैन तर नेपाल निजामती कर्मचारी युनियन आबद्ध रहेको ट्रेड युनियनले गर्दैन । सरकारले कर्मचारी सरुवा, बदला गर्दा पूर्वाग्रह राखी गरेमा त्यसको विरुद्धमा आवाज उठाइन्छ । सरकारले कर्मचारी सरुवा-बढुवा गर्दा इमानदारीपूर्वक पक्षपात नगरीकन गरेमा ट्रेड युनियनले दुःख दिँदैन ।

सरकारले के गर्दा ट्रेड युनियनले उठाएको माग पूरा होला ?

– मुलुक सङ्घीयतामा गएपछि प्रदेश र स्थानीय तहमा कर्मचारीलाई समायोजन गरी पठाउँदा जुन हचुवाको भरमा गरेको थियो त्यसलाई सरकारले सच्याउनुपर्छ । समायोजन गर्दा कतिपय कर्मचारी जानु भएन कति नचाहँदा चाहँदै जानुपर्‍यो । अब एक पटक कुन कर्मचारी सङ्घीयमा बस्ने, कुन प्रदेशमा, कुन स्थानीय तहमा त्यस विषयमा सबै कर्मचारीको भावना बुझेर अगाडि बढेमा कर्मचारीका केही मागहरू पूरा हुने थियो ।

तपाईको प्रतिक्रिया