विराटनगर । श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवसको दिन विराटनगर पृथ्वीमय बनेको थियो ।

लामो प्रयास एवम् दबाबपछि पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिन सरकारले घोषणा गरे पनि पृथ्वीनारायण शाहलाई स्वीकार गर्न सकेको थिएन ।

यस पटक कोसी प्रदेश सभाका सभामुखको विशेष पहलमा कोसी सभा भवनको आँगनमा पृथ्वी जयन्ती मनाएर सभामुख अमर ब. विष्टबाट जुन कामको थालनी भयो यसलाई सकारात्मक रूपमा लिएको छ । एकीकृत राष्ट्रिय सङ्घर्ष समिति २०८० मोरङले गणतन्त्रवादीलाई खुला चुनौती दिँदै विराटनगरमा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा पौष २७ गते मनाएको छ ।

विराटनगर शनिहाटमा भेला भई पञ्चेबाजासहित नगर परिक्रमा गरी विराटनगर रामजानकी मन्दिरमा गई पृथ्वी जयन्तीको महत्त्वको बारेमा चर्चा गरिएको थियो ।

पञ्चेबाजा सहितको उक्त र्‍यालीमा गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दाबाद, हिन्दु राज्य घोषणा गर, पृथ्वीनारायण शाह अमर रहुन्, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाइएको थियो । उक्त र्‍याली र नारालाई सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयले कैद गरेको थियो । उक्त र्‍यालीमा पूर्व उपप्रधान एवम् गृहमन्त्री बद्रीप्रसाद मण्डल, पूर्व राजपरिषद्का सदस्य जितबहादुर अर्जेल, पूर्व जिल्ला विकास समिति मोरङका सभापति वल्लभप्रसाद दाहाल, राजनीतिक कर्मी महिला लगायत ५००० भन्दा बढीको सहभागिता थियो ।

र्‍यालीपछि आयोजित कार्यक्रमलाई बद्री प्र. मण्डल, जितबहादुर अर्जेल, राप्रपा नेपालका पूर्वाञ्चल संयोजक माधव प्र. आचार्य, श्रीमती रमा प्रसाईँ, श्रीमती गोमा न्यौपाने, विष्णु थापा, छुमरु सरदार, कुमार ढकाल लगायतले पृथ्वीनारायण शाहको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

उहाँहरूको एउटै धारणा थियो राजा ज्ञानेन्द्रबाट अघि सारेको पृथ्वी पथ नै नेपालको विकासको संवाहक भएको कुरालाई सबैले आत्मसात् गर्नुपर्छ भन्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुहुने राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका अध्यक्ष वल्लभप्रसाद दाहालले हामी जुन धरातलमा उभिएर बोलिरहेका छौ यो शाह वंशीय राजाकै योगदानको कारणले गर्दा हो भन्नुभयो ।

श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहले सानातिना राज्यलाई एक सूत्रलाई बाँध्ने काम भएको थियो भने शाह वंशीय राजा महेन्द्रबाट नेपाललाई विश्व सामुन्ने चिनाउने काम भएको कुरालाई कसले बिर्सन नहुने बताउनुभयो ।

विश्वको मानचित्रमा जुन नेपाल छ नेपाल झन्डा विश्वको अन्य मुलुकको सामुन्ने फहराइएको छ सो शाह वंशीय राजाकै योगदान अथक प्रयासको उपज हो दाहालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया