विराटनगर । भूमि सुधार तथा मालपोत कार्यालय विराटनगर मोरङमा दर्ता भएको विभिन्न प्रकृतिको मुद्दाहरू फर्छ्यौट हुने काम तीव्र गतिमा भइरहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा जग्गा दर्तातर्फ २० वटा मुद्दा परेकोमा २ वटामा फर्छ्यौट भएको छ र अन्यको हकमा शतप्रतिशत फर्छ्यौट भएको कुरा मालपोत कार्यालय विराटनगर मोरङले बताएको छ ।

६ महिनाको अवधिमा नामसारीतर्फ ३२० वटा, हाल साबिकतर्फ १८० वटा, संशोधनतर्फ ३३५ वटा मुद्दा परेकोमा कार्यालयबाट सम्पूर्ण मुद्दा फर्छ्यौट भएको छ । सोही अवधिमा दाखा तर्फ १७९ वटा मुद्दा परेकोमा उक्त मुद्दासमेत फर्छ्यौट भएको छ ।

६ महिनामा हक सफातर्फ कुनै पनि मुद्दा नपरेको कुरा कार्यालयले बताएको छ ।

सोही अवधिमा मालपोत कार्यालय विराटनगरमा जग्गाको कारोबार गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।

पौष महिनासम्म ८७१५ वटा लिखत पारित भएको छ । उक्त लिखत पारित भएपछि राजस्व असुलीतर्फ उल्लेखनीय वृद्धि भएको बताइन्छ ।

६ महिनाको पौष महिनासम्म ३२ करोड ६८ लाख १८ हजार ५७२ रुपैयाँ (लाभकर बाहेक) राजस्व असुल भएको छ भने सोही अवधिमा लाभकर मात्र २२ करोड ७ लाख ८८ हजार ७७० रुपैयाँ राजस्व असुल भएको छ ।

सरकारले कित्ताकाटलाई सहजीकरण गरेको कारण जग्गाको कारोबारमा वृद्धि भएको कुरा कार्यालयका एक कर्मचारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया