विराटनगर । विराट गोल्डकप फुटबल ट्रस्टले विराट गोल्डकप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न विराटनगरका उद्योगी नवीन रिजाललाई जिम्मा दिए पनि यस पटक गोल्डकप सञ्चालन गर्न रिजाललाई त्यति सहज देखिँदैन ।
विराटनगर गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको गोल्डकप टुर्नामेन्टमा असहयोग गर्ने गोल्डकप सञ्चालन गर्न सहयोग गर्ने वचन दिएकालाई सहयोग नगर्न लविङ्ग गर्नेहरू नै रिजालको वरिपरि घुमिरहेका छन् । त्यसको गर्दा गोल्डकप टुर्नामेन्ट सम्पन्न गर्न रिजालको लागि त्यति सहज देखिँदैन ।
ट्रस्टले आफैँले आयोजना गरेको टुर्नामेन्टमा २४ लाखभन्दा बढी घाटा भएपछि ट्रस्टको खातामा रहेको रकममध्ये १४ लाखभन्दा बढी सापटी लिई बाँकी पछि रकम दिने सर्तमा हिसाब मिलान गरी आय-व्यय सार्वजनिक गरिएको थियो । यसरी घाटा देखाइएपछि उक्त हिसाब-किताबलाई विराट गोल्डकप फुटबल ट्रस्टले साधारण सभा गरी साधारण सभाबाट अनुमोदन गराउनुपर्नेमा अनुमोदन नगराइएको कुरा खेल क्षेत्रका जानकारले बताएका छन् ।
विराट गोल्डकप फुटबल टुर्नामेन्ट विराटनगरको गौरव हो । यसलाई सबैले स्वीकार गरी निःशुल्क प्रचार प्रसारका साथै समाचारसमेत सम्प्रेषण गर्ने काम भएको थियो ।
यस पटक विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिका संयोजक नवीन रिजालद्वारा गठन गरिएको सचिवालयमा आफ्नो सञ्चार माध्यम सूचीकृत गर्नुपर्ने, तिनलाई मात्र सहयोग गर्ने गरी योजना बनाएको कुरा ट्रस्टका जिम्मेवार पदाधिकारीले बताएका छन् । यसलाई हेर्दा नवीन रिजालद्वारा गरिने आर्थिक अनियमितता बारेमा मौन बस्न अप्रत्यक्ष रूपमा आग्रह गर्ने योजनामा रिजाल रहेको अनुमान गर्न थालिएको छ ।
नवीन रिजाल आफ्नो योजनामा के सफल होलान् आउँदो समयले बताउने छ । र रिजाललाई गोल्डकप सम्पन्न गर्न फलामको चिउरा चपाएसरह हुने देखिन्छ ।