विराटनगर । महेन्द्र गोल्डकपको रूपान्तरित नाम हो विराट गोल्डकप तर महेन्द्र गोल्डकप फुटबल टुर्नामेन्ट सञ्चालन हुँदा खेरी टिम र दर्शकको जुन सहभागिता हुने गर्दथ्यो तर सो सहभागिता अहिले हुन सकेको छैन ।

त्यस बेला विराटनगरमा मात्र आधा दर्जन बढी फुटबल क्लबहरू थिए । तिनै क्लबबाट खारिएका फुटबल खेलाडीलाई समेटेर मोरङ ११ भनिन्थ्यो र फुटबल खेलमा सहभागी हुन्थे तर अहिले खेलकुद फुटबल क्षेत्र धराशायी बनिरहेको छ ।

इतिहास क्रमशः मेटिँदै गएको छ । इतिहासलाई जोगाउनुभन्दा पनि दलीय डमी खेलाडी खडा गरी खेल क्षेत्रलाई जीवन्त दिने प्रयास भइरहेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ तर यो पर्याप्त होइन । राजाको शासन कालमा धेरै राजावादी सङ्घसंस्था खुले तर निरन्तरता पाउन सकेन । सोही प्रकारले अहिले पनि नहोला भन्न सकिँदैन । दलीय उद्देश्य पूरा गर्न खोलिएका सङ्घसंस्थाहरू दल सत्ताबाट बाहिरिएपछि बन्द नहोस् ।

फुटबलबाटै यी कुराहरू सबैको अगाडि देखा परेको हो ।

महेन्द्र गोल्डकप फुटबल टुर्नामेन्टलाई विस्थापित गरेपछि विराट गोल्डकप फुटबल टुर्नामेन्ट नाम दिई फुटबल टुर्नामेन्ट भएको थियो ।

त्यस बेला २/३ वर्ष रमपम विराट गोल्डकप नाम राखियो । रमपम ११ भनियो । एसियन थाइफुड्स प्रा.लि.ले लगानी गर्‍यो । खेलाडी भाडामा ल्याएर आफ्नो ब्रान्डलाई अगाडि बढाउने काम गरेको थियो ।

रमपम विराट गोल्डकप नाम हटाएपछि रमपम ११ पनि हराएको थियो । पछि नवीन रिजालले विराट गोल्डकप फुटबल टुर्नामेन्ट गर्ने जिम्मा पाएपछि रिजाल ११ फुटबल टिम जन्म भयो । अनि टुर्नामेन्ट आयोजक समितिको संयोजक नभएपछि रिजाल ११ पनि हरायो । अहिले पनि रिजाल ११ टिम जन्माउने तयारीमा नवीन रिजाल लाग्नुभएको छ ।

यसरी खेलकुद क्षेत्रलाई मजाकको रूपमा लिने काम भइरहेको छ ।

विराटनगर महानगरपालिकाका मेयर समेत रहनुभएका नागेश कोइराला पनि विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिको संयोजक हुनुभयो । उहाँले शुभाषिश कोइरालालाई जिम्मा दिएपछि उहाँकै नेतृत्वमा गठन भएको विराट सिटी फुटबल क्लबको तर्फबाट खेलकुदमा भाग लिएको थियो ।

हामीले रमपम ११ लाई रिजाल ११ लाई विराट सिटी फुटबल क्लबलाई घरेलु टिम भनेका थियौँ तर हामीले भनेको घरेलु टिम बिच बिचमा क्रमभङ्ग भयो ।

जस जसले लगानी गरे उक्त लगानी आफू र आफ्नो ब्रान्डलाई देखाउन मात्र गरेका थिए । नवीन रिजाल संयोजक भएपछि रिजाल ११ फेरि ब्युँतियो । यसरी आफूले जिम्मा पाउँदा ब्युँताउने खेलले फुटबल खेलको विकार हुँदैन । फुटबल खेलप्रति मजाक गरेको देखिन्छ ।

मोरङको इतिहास बोकेको फुटबल खेललाई मजाकको रूपमा स्थापित गर्नु हुँदैन यसले गलत सन्देश जान्छ ।

विराट गोल्डकपलाई आयोजकले प्रयोग गर्ने गरेका छन् । आफूले प्रयोग गर्न नपाएपछि छोडिदिने गरेका छन् ।

तपाईको प्रतिक्रिया