विराटनगर । केही समयदेखि नेपालमा प्लास्टिकको चामल आइरहेको हल्लाले गर्दा आम उपभोक्ता वर्गमा यो शब्दले वेला वेलामा आतङ्कित पार्ने गरेको छ ।

व्यापारीहरू व्यापार गर्न बसेका हुन् । व्यापारीले कहिले पनि घाटाको व्यापार गर्दैन । प्लास्टिकको दाता तेस्रो मुलुकबाट ल्याइन्छ । उक्त दाना नेपालका व्यापारीको गोदाममा आइपुग्दा प्रति केजी ५ सय जति पर्न जान्छ । जबकि चामल प्रतिकिलो ८० देखि १२० सम्ममा पाइन्छ । ५ सय रुपैयाँ प्रतिकिलोको प्लास्टिक किनेर व्यापारीले प्लास्टिकको चामल उत्पादन गरी बेच्छन् भन्नुमा कुनै सत्यता नभएको कुरा चामलका जानकारहरू बताउँछन् ।

२० वर्ष अगाडि धान ४/५ प्रकारका हुन्थ्यो । जसमा बास्मती धान, करिया कामत धान, मोटो धान, मसिनो धानहरू हुन्थे । उक्त धान रोपेपछि ६ महिनामा उत्पादन हुन्थ्यो ।

तर अहिले विभिन्न जातका धानको बिउहरू बजारमा पाइन्छ । कतिपय धान रोपेको ५० दिनमा फलाइन्छ । यो कसरी समयभन्दा अगाडि धानको उत्पादन हुन्छ त्यसतर्फ कसैले पनि ध्यान दिन सकेका छैनन् ।

२० वर्ष अगाडि धान रोपेपछि उक्त धान फल्ने समयमा धान फल्थ्यो, धान दाउनी गरेपछि सुकाइन्थ्यो । समय लगाएर फलेको धानमा पोषण तत्त्व (गुलेटिन)को मात्रा बढी हुन्थ्यो तर अहिले गुलेटिनको मात्रा कम भएको धान बजारमा पाइने हुँदा मानिसलाई पाउनुपर्ने जति पोषण तत्त्व पाउन सकेका छैनन् । यस विषयमा नियमनकारी निकायले पनि प्रस्ट रूपमा बताउन नसक्दा प्लास्टिकको चामल बजारमा भन्ने हल्लाले बढी स्थान पाउन थालेको छ ।

अहिले चामलमा पाइने पोषण तत्त्व (गुलेटिन), कार्बन लगायत अन्य पोषण तत्त्व चामलमा पाइँदैन । अहिले मिलमा धान आएपछि सिधै धानलाई इलेक्टी मार्फत सुकाइन्छ, सुकाएपछि चामलमा हुने पोषण तत्त्व पनि नष्ट हुने गर्दछ र केही चामलहरू हलुङ्गो हुने गर्दछ । त्यस्तो चामल हलुको हुने र छुट्टिने गर्दछ । यसलाई प्लास्टिकको चामल भनेर प्रचार गर्ने गरिएको बताइन्छ ।

२० वर्ष अगाडि चामलको भाड तारिन्थ्यो । उक्त माडले कपडा धोइन्थ्यो । त्यस बेला चामलको स्वाद फरक हुन्थ्यो, त्यसमा पोषण तत्त्व बढी हुन्थ्यो । त्यस बेला १०० ग्रामको चामलले एक जनालाई पुग्दथ्यो भने अहिले १०० ग्राम चामलले पुग्दैन । यसतर्फ अहिलेसम्म कसैको ध्यान जान सकेको छैन । चामलमा पाइने गुलेटिन, आइरन, कार्बनहरू अहिले प्रायः पाइँदैन । यसले गर्दा कतिपय मानिसहरूमा प्रोटिनको कमी, आइरनको कमी हुने गरेको छ । यस विषयमा नियमनकारी निकायले प्रस्ट पार्न नसक्दा उपभोक्तामा डर, त्रास पैदा भएको छ ।

हामीले २० वर्ष अगाडि चामलको भात खाँदा स्वाद कस्तो हुन्थ्यो तर अहिले कस्तो स्वाद छ । यसतर्फ अन्य उपभोक्ताले ध्यान दिएको पाइँदैन ।

छिमेकी मुलुक भारतमा जनसङ्ख्या बढिरहेको छ । आफ्ना जनतालाई सहुलियतमा खाद्यान्न दिइरहेको छ । नेपालतर्फ पनि आयात गर्न दिएको छ । चामलको उत्पादनमा नयाँ प्रविधिको विकास गरिरहेको हुँदा भारतले फोर फिटी राइस चामल उत्पादन गरिरहेको छ । यो चामलको मिल भारतमा छ । नेपालमा पनि खोल्न भनिएको थियो तर महँगो हुने भएर उद्योग नखुलेको चामल उद्योगीले बताएका छन् ।

यो चामल प्राकृतिक होइन । चामलको खुँदिलाई पिठो जस्तो बनाएर प्रोटिन, कार्बन जस्तो पाउडर मिसाएर मिसिनमा हाली नवीन चामल उत्पादन गर्ने काम भारतले गरिरहेको छ ।

अहिले बजारमा पाइने चामल २० वर्ष अगाडिको चामल जस्तो हुँदैन । अहिलेको चामलमा पोषण तत्त्व हामीलाई चाहिने जति पाउँदैनौँ । त्यसलाई पूरा गर्न फोर फिटी राइस चामललाई बजारमा भारतले ल्याइरहेको छ । खुला सिमानाको कारण उक्त प्रकृतिको चामल नेपालमा आइरहेको छ ।

प्लास्टिकको चामलको हल्लालाई निराधार भनेर आफ्नो धारणा सार्वजनिक गर्न धाम चामल कम्पनी, धान चामल उद्योग, सङ्घ, सङ्गठन, खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय एवम् नियमनकारी निकायले प्रतिबद्ध गर्नेतर्फ ध्यान नदिँदा यो हल्लाले प्रमुख स्थान ओगटेको छ ।

तपाईको प्रतिक्रिया